यो वैश्य युग हो, अर्थात् वणिकहरूको युग । शहरहरू छन्, बजारहरू छन् । मानिसका असीमित रहरहरू छन्, सगरका ताराजस्तै या बगरका बालुवाजस्तै । तर यहाँ केही समययता बजार बजार जस्ता छैनन् । यहाँ हरेक कुरा विक्रीमा छन्, पैसासमेत सस्तोमा विक्री भइरहेको छ । तर खरीददार छैनन् । त्यसैले खरीद गर्न चाहनेका लागि यो सुवर्ण अवसर हो । किन्नु छ भने किनिहाल है । नगद वा उधारोमा । सबैथोक किन्न पाइन्छ, आफ्नै होस् कि अर्काको... तर पाइन्छ । तिमी चाहिँ के किन्ने त ?
घरको अगाडिको आधा सडक लिइहाल, पछाडि गल्ली छ भने त्यो पनि किनिहाल । सानाठूला सबै थोक किन्न पाइन्छ यहाँ । आफ्ना लागि आवास किन वा ललिता निवास किन । कुनै होटल, रिसोर्ट किन वा एयरपोर्ट किन । भैरहवामा किन वा पोखरामा कुरो छिन । हवाईजहाज पनि विक्रीमै छन्, चाह्यौ भने राष्ट्रिय ध्वजावाहक नै पनि किन्न सक्छौ । अझ एयरपोर्टको आधा आकाशै किन्न सक्छौ । यसमा लगानी गर्दा राम्रै हुन्छ ।
त्यसैले रेल किन वा जेल किन । तिहारको सेल नभए एनसेल किन । अहिले त एकसे एक सुपरफास्ट गाडी पाइन्छन्, ईभी त्यो पनि कति जीबीको । कतैको सरकारी जमीन वा खाली मैदान छनोट गर । उस्तै परे टुँडिखेल नै किन्न सक्छौ । अहिले त अस्पतालहरू पनि सस्तो दरमा पाइन्छन् रे । नत्र औषधि पसल नै भए पनि किनिराख्दा हुन्छ । सिमेन्ट, छडका कारखाना अझै चालु अवस्थामै पाइन्छन्, त्यै किन्दा नि हुन्छ । अहिलेका शपिङ मल किन्ने कि विगतका नाम चलेका संस्थान ? सबै सबै विक्रीमा छन् है । जे चाहिन्छ किनिहाल । बैंक, बीमा, टेलिकम, ऊर्जा सबै पाइन्छ यहाँ । सरकारी किन्ने कि निजी ? सीधै किन्ने कि घुमाएर किन्ने, धेरै सोच्नै पर्दैन । यस्तो मौका फेरि कहाँ पाइन्छ र । यो संसार नश्वर छ, क्षणिक छ । त्यसैले कुर्सी र पैसा आज छ, भोलि छैन । त्यसैले समयमै कुरो छिन । किन्न मन लागेका कुरा बम्पर छूटमै किन ।
चाहिएको छ भने विगतमा हिँउले ढाकिने पहाड किन । किनकि अहिले त ती कालापत्थरमा परिणत हुँदै गएका छन् । तर अहिले ढुंगा पनि विक्री हुन्छन् नि त । तिमीसँग रकम छैन भने चिन्ता लिनै पर्दैन । बैंकहरू अहिले ‘कस्लाई दिऊँ यो पैसा’ गीत गाउँदै झिँगो मारेर ग्राहक कुरिरहेका छन् । तिमीसँग नगद छ भने नदी, तालहरू पनि तिम्रै हुन सक्छन् । आफूसँग कौडी भए यहाँ खेल मैदान दौडी दौडी पाइन्छ, त्यो पनि साना ठूला खेलाडीसहित । नभए खेलकुद क्लब नै किन ।
किन्ने कुरामा कसैसँग डराउनै पर्दैन । बेच्नकै लागि त छ तम्तयार, दल होस् कि सरकार । यो किनबेचमा सरकारको अरू कुनै छैन दरकार । सरकारलाई त छ केवल करको सुर्ता । किन्न मन नलागे भैहाल्छ फिर्ता, अनि केको चिन्ता ? राजनीति त कुनीति हो कि सुनीति हो, चिन्नै नसकिने भएको छ । यहाँ अहिले जे चलिरहेको छ, त्यो त कुनै नीति नै होइन, यो एक खेला हो, लोकतन्त्र नामको मेला हो, जनताको झुक्याउने झेला हो, विकासका नाममा रेला हो । त्यसैले, अनलाइन किन, अफलाइन किन, अखवार, रेडियो वा टिभी किन । समाचार तिमी आफै भन, रिपोर्टरको नाममा छापिइहाल्छ । अनि आफ्नो मनलागे अनुसार गर । हावा किन, श्वास किन । सांसद वा दलकै विश्वास किन । स्वदेशमा मात्र किन ? विदेशमा पनि एउटा एउटा वास किन । सस्तो महँगो नहेर । किनकि यो किन्ने बेला हो ।
भन्छन् कि अहिले त अदालत, सेना र सरकार पनि सजिलै पाइन्छ । बर्दीसहितको पुलिस पाइन्छ, आदेशविना नहल्लिने । यहाँ हरेक पद विक्रीमा छन् अफिसर, सचिवदेखि मन्त्रीसम्म । दिपक मनाङेले त मन्त्रालय नै विक्रीमा छ भन्थे । तिमी के र कुन चाहिँ किन्ने त ? यहाँ इमान जमानदेखि सिमाना पनि त लिलामीमै छन्, त्यो पनि सस्तैमा । प्रदेशका एक मन्त्रीले जापानमा मान्छे बेच्न लगेका थाहा पायौ नि ? त्यस्तै प्रयास उपसभामुखले पनि गरेकी थिइन् क्यारे । दुवै सफल भएनन् । तर यसको मतलब यहाँ सबै विक्रीमै लागेका छन् ।
त्यसैले नीति किन्ने कि नेता ? कपाल र मन दुवै काला कि फूलेका सेता ? नयाँ कि पुराना जेठा ? कि रवि, छवि, बादल, वर्षा, अग्नि वा बाम ? सेल लागेको छ सबै पाइन्छ र सस्तो छ दाम, केवल पत्ता लगाऊ किन्न पाइने ठाम । हो, कुनै पनि चिज सित्तैमा चैं पाइन्न है । जे पायो, त्यही तन्त्र हामीलाई चाहिन्न है । छ, यता पाइन्छ किशुनजीेको बाकस, छाता, सुराही... भाउ लगाऊ । बिपीको टोपी त नपाइएला कि । तर गजेन्द्रनारायणको धोती पाइन्छ है । चाहे राम बन वा बलराम या हराम नै । तर नामसारी हुँदैन नि विना मोटो खाम है !
नडराऊ । जनताले यो सब केही देख्दैनन्, कान पनि सुन्दैनन् । त्यसैले घोडा, हात्ती वा ऊँट किन । दौराशुरूवाल वा थ्री पिस सुट किन । एक्का, दुवा, तिर्कीदेखि मिस्सी, बादशाह सबै विक्रीमै छन् है । मन्त्री त बेचिइसकेको छ । अरू अझै बाँकी छन् शपिङ मलमा गर्वका साथ विक्रीका लागि सजाइएका । किनिहाल है । यही नै त मौका हो । बजार खुल्लै छ । नगदमा किन वा किस्तामा किन । जोख, तौल । उधारोमा पनि पाइन्छ । केही नभए, ठाउँमा आफ्ना भए त उपहार पाइन्छ ।
तिमी मलाई नसोध कि ‘यो सब तिमी कसरी बेच्न सक्छौ’ भनेर ? तिमी यत्तिमात्र जान कि तिमी रिनमा छौ कि धनमा ? तिमी किन्नेमा छौ वा बेच्नेमा ? केवल आफ्नो सोच फराकिलो बनाऊ । आखिर यो संसार बजार हो, लेनदेन नै त बाँचेको प्रमाण हो ।
अनि विक्री गर्न पनि सबैलाई कहाँ आउँछ र ? मीठो बोल्नेले यहाँ खुर्सानी पनि बेच्न सक्छ । तालु खुइलेकालाई पनि काइँयो बेच्छ । मौन बस्नेले वा नबोल्नेले मह पनि बेच्न सक्दैन । बेच्न जानेन भने कुर्सी पनि छुट्छ, भाग्य पनि टुट्छ । त्यसैले विक्री एक ठूलै कला हो । मानिसले धरतीमा बसेर चन्द्रमामा प्लटसम्म बेचिरहेको छ, मंगलको जग्गा किनिरहेकै छ । त्यसैले हामी पनि प्रगति गर्नेछौं, अगाडि बढ्नेछौं । हेर्दै जाऊ, एक दिन हामीले पाउचमा प्याक गरेर सूर्यको प्रकाश पनि बेच्नेछौं । ल भन त, तिमी चाहिँ के किन्ने त ?