काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले बुधवार बिहान आईपीओ बाँडफाँट गरेको हो ।
१५ लाख ६४ हजार ५६४ जना योग्य आवेदकहरूमा कम्पनीले आईपीओ बाँडफाँट गरेको हो । विक्री प्रबन्धकका अनुसार १० कित्तादेखि ३० कित्तासम्म माग गर्नेलाई मागअनुसार नै आईपीओ बाँडफाँट गरिएको छ । ३० कित्ताभन्दा बढी आईपीओ माग गर्नेमध्ये २९ हजार २१ जना भाग्यमानी आवेदकहरूले थप १० कित्ताका दरले आईपीओ पाएका छन् । यस हिसाबमा २९ हजार २१ जनाले ४० कित्ता आईपीओ हात पारेका हुन् ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि मङ्सिर २७ देखि पुस २ गतेसम्म आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएको जानकारी विक्री प्रबन्धकले दिएको छ ।
कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न अनुमति पाएको हो ।
कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ३० लाख कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूमा १५ लाख कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिसकेको कम्पनीले बाँकी २ करोड ४९ लाख कित्ता भने सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।
अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीले सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि चुक्ता पूँजी १० अर्ब रुपैयाँ कायम भएको छ ।
हाल संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गरेको हो ।