काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको आईपीओ पुस ११ गते बाँडफाँट गर्ने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले उक्त दिन बिहान १० बजे काठमाडौंको बालुवाटारस्थित ताज रिसेप्सनमा आईपीओ बाँडफाँटको कार्यक्रम तय गरेको हो ।
कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न अनुमति पाएको हो ।
कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ३० लाख कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूमा १५ लाख कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिसकेको कम्पनीले बाँकी २ करोड ४९ लाख कित्ता भने सर्वसाधारणमा मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासन गरेको थियो ।
कम्पनीको आईपीओ सबै आवेदकले पाउनेछन् । कम्पनीको आईपीओ खरीदका लागि साढे १६ लाख ६० हजारभन्दा बढीले आवेदन दिएको जानकारी सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको छ । अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीले सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि चुक्ता पूँजी १० अर्ब रुपैयाँ कायम गर्नेछ । हाल संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गरेको हो ।