राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार नेपालमा अन्तरराष्ट्रिय बसाइँसराइको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ जसअनुसार नेपालबाट अन्तरराष्ट्रिय बसाइँसराइ उच्च दरले बढिरहेको छ । २०७८ सालको जनगणनामा आधारित रहेर सार्वजनिक गरिएको प्रतिवेदनअनुसार कुल जनसंख्याको ७ दशमलव ५ प्रतिशत विदेशमा रहेको देखिएको छ । यतिमात्र होइन, जनगणनाले नेपाल प्रौढहरूको संख्या बढी भएको मुलुकतर्फ अगाडि बढिरहेको समेत देखाएकाले अब जनसंख्या सम्बन्धमा गम्भीर विश्लेषण र नवीन नीतिको आवश्यकता टड्कारो रूपमा देखिएको छ ।
जनसंख्यामा आएको एउटा प्रवृत्ति अन्तरराष्ट्रिय बसाइँसराइ हो । विदेश गएर मुलुकमा अनुपस्थित हुनेमध्ये तीन चौथाइभन्दा बढी ७५ दशमलव ८ प्रतिशत मानिस १५ देखि ३४ वर्ष उमेर समूहका छन् । अनुपस्थितको दोस्रो ठूलो उमेर समूह ३५–५४ वर्ष छ जसको अंश १४ प्रतिशत छ । काम गर्न सक्ने उमेरसमूहको ठूलो अंश विदेशतिर जाने क्रम बढ्दो छ । युवाको बसाइँसराइलाई लिएर सरकारको आलोचना गर्ने र राजनीतिक स्वार्थको रोटी सेक्ने प्रवृत्ति एकातिर छ भने अर्कातिर यसका सकारात्मक र नकारात्मक पक्षबारे पर्याप्त अध्ययन भएको छैन । अवसरको खोजीमा युवा विदेशमा जाने प्रवृत्ति विश्वभरि नै पाइन्छ । त्यसो हुँदा तिनलाई रोक्न कठिन देखिन्छ । मुलुकमा अवसर र स्थायित्वको कमी भएकाले नेपालमा गर्ने दु:ख विदेशमा गरे बढी प्रगति गर्न सकिन्छ भन्ने विश्वास नयाँ पुस्तामा छ । त्यही भएर वैधानिक अवैधानिक जुनकुनै बाटोबाट विदेशिन लाखौं रुपैयाँँ खर्च गर्न तयार भएका छन् । त्यसो त आन्तरिक बसाइँसराइ पनि ठूलो समस्या छ । पहाडी क्षेत्रबाट शहर र तराईका क्षेत्रमा बसाइँ सर्ने प्रवृत्तिका कारण पहाडी क्षेत्रमा जनसंख्या निकै पातलिएको छ । यसले मुलुकको जनसांख्यिक वितरणमा ठूलो समस्या ल्याएको छ । यसले राजनीतिक प्रणालीमै पनि असर गरेको छ ।
- काम गर्न सक्ने उमेरसमूहको ठूलो अंश विदेशतिर जाने क्रम बढ्दो छ ।
- पहाडी क्षेत्रबाट शहर र तराईका क्षेत्रमा बसाइँ सर्ने प्रवृत्तिका कारण पहाडी क्षेत्रमा जनसंख्या निकै पातलिएको छ ।
- जनसंख्या बढाउने, विदेश पलायन रोक्ने र आन्तरिक बसाइँसराइ रोक्ने कार्यक्रम ल्याउनु आवश्यक छ ।
अर्को, नेपालले जनसांख्यिक लाभको अवसर गुमाउन थालिसकेको छ । मुलुकमा जनसंख्या वृद्धिदर न्यून भइरहेको छ । विश्वको औसत जनसंख्या वृद्धिदर १ दशमलव शून्य १ प्रतिशतभन्दा नेपालको जनसंख्यावृद्धिदर कम भइसकेको छ । कुल जनसंख्यामा बालबालिकाको अंश घट्न थालेको छ । अबको एकाध दशकमै युवाको जनसंख्या कम हुने देखिन्छ । यसले नेपाल प्रौढ जनसंख्या बढी भएको मुलुक बन्ने देखिएको छ । विश्वका धेरै देश विकासको उचाइमा पुगेर युवा जनसंख्या थोरै भएको अवस्थामा पुगेका देखिन्छन् तर नेपाल भने विकासको गतिमा अघि नबढ्दै प्रौढको जनसंख्या बढी भएको मुलुकमा रूपान्तरित हुन लागेको छ । यस्तो अवस्था हुँदा उत्पादनमूलक क्षेत्रमा जनसंख्या कम हुन्छ भने राज्यले सामाजिक सुरक्षा दिने जनसंख्या उच्च हुन्छ । यो खर्च धान्न सरकार सक्षम देखिंदैन ।
जनसांख्यिक अवस्थामा यस्तो परिवर्तन आउनुमा सरकारी नीति एउटा प्रमुख कारण रहेको छ । विगतमा सरकारले जनसंख्या वृद्धि नियन्त्रण गर्न उच्च प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्यो । केही वर्षयता सरकारले जनसंख्या घटाउने नीतिमा चुप लागेको देखिन्छ । अहिले ढिला विवाह गर्ने र एकजना भन्दा बढी बच्चा नजन्माउने प्रवृत्ति बढ्दो छ । अर्कोतर्फ भएका युवा जनसंख्या पनि विदेसिंदा देशमा बच्चाबच्ची र बूढाबूढी मात्र रहने परिस्थति बनेको छ । बच्चाबच्चीलाई पोषण र राम्रो शिक्षादीक्षा दिन सकिँदैन भने धेरै बच्चा उत्पादन गर्न प्रोत्साहित गर्न गाह्रो छ । त्यसैले देशमा आर्थिक विकास गरेर स्वदेशमै युवा रहने वातावरण तयार पार्नुपर्छ । हालसम्म पनि नेपालले जनसांख्यिक लाभ लिन सक्ने अवस्था छ । त्यसैले युवापलायन रोक्न नीतिगत स्थायित्व चाहिन्छ । आज एउटा अवसर देखेर लगानी गर्यो भोलि नीतिमा परिवर्तन हुँदा लगानी गुमाउने अवस्था आउनु हुँदैन । अर्को, जनसंख्या बढाउने, विदेश पलायन रोक्ने र आन्तरिक बसाइँसराइ रोक्ने गरी कार्यक्रम ल्याउनु आवश्यक छ । यसो नगरे अहिलेको अवसर गुम्दै जानेछ । त्यस्तो अवस्थामा मुलुक ठूलै संकटमा फस्ने सम्भावना भएकाले जनसंख्या व्यवस्थापनलाई हचुवाका रूपमा लिइनु हुँदैन ।