काठमाडौं । काठमाडौंको हाडीगाउँ स्थित जय-अजिमा बचत तथा ऋण सहकारी संस्थाले हालसम्म २४ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । संस्थाले आयोजना गरेको १६ औं वार्षिकोत्सव तथा नयाँ २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा २८ करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन गरेर सो लगानी गरेको हो ।
पछिल्लो समय सहकारी अभियानमै धक्का लाग्ने गरि सडकदेखि संसदसम्म अनेक प्रश्न उठेका बेला सहकारीमा स्वनियमन र सुशासन थप चुनौती बनेको सहभागीले बताएका छन् । ऋणी सदस्यले समयमै ऋण फिर्ता नगर्दा शहकारीमा समस्या भएको काठमाडौं वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र प्रजापतीले बताए । उनले ऋण लिने सदस्यलाई समयमै ऋण तिर्न पनि सुझाए ।
यस्तै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष चन्द्र ढकालले सुशासन र पारदर्शी रुपमा संस्थाहरु चल्नु पर्ने बताए । सहकारीप्रतिको सतही बुझाइले सहकारी अभियानकै गलत ब्याख्या भएको भन्दै उनले यसमा राज्य पनि जिम्मेवारी नभएको धारणा राखे । सहकारीप्रती सकारात्मक हुनुपर्ने धारणा राख्दै उनले भने, 'सहकारीलाई धमिलो बनाउने नदिन सेयर सदस्यहरू नै बढी सजग र सतर्क हुनुपर्छ ।'
काठमाडौं जिल्ला सहकरी संघका अध्यक्ष सुमन केसीले सहकारीका बारेमा सदनदेखी सडकसम्म नकारात्मक चर्चा बढी चलिरहेको टिप्पणी गरे । 'सहकारी संस्थाहरुमा देखिएका समस्या संस्थाकै आन्तरिक कारणले नै भएको हो', उनले भने, 'कतिपय संस्थाहरुमा स्वनियमन र सुशासनको चरम अभाव देखिएको छ । नियमन फितलो हुदा गलत मनसाय राख्नेले गलत लाभ लिएका छन् ।'
संस्थाप्रति सदैव खबदारी निगरानी राख्नु सदस्यको कर्तव्य भएको भन्दै केसीले संस्थाप्रति निगरानी राख्ने, लेखापरीक्षण मिहिन ढंगले अध्यन गरेर काम गर्दा संस्था बलियो भइरहने बताए ।
सहकारीका मुल्यमान्यताअनुसार चलेका छन्, सबै सहकारी फटाह होइनन भन्ने प्रमाणिात गर्नु परेको उनको भनाइ छ । बचत गरेको रकम एकैपटक लिन आउदा बैंकमा समेत समस्या हुने भन्दै उनले एउटा बैंकमा समस्या आउदा गभर्नरदेखि सरकारका मन्त्रीले समस्या छैन निक्षेपकर्ता डराउन नपर्ने धारणा सार्वजनिक हुने तर सहकारीमा त्यसो नभएको उनले जिकिर गरे ।
सो अवसरमा संस्थाका व्यवस्थापक पुरुषोत्तम कुमार थापाले संस्थाका गतिविधिबारेमा जानकारी गराए । उनका अनुसार संस्थामा शेयर पुजी ४ करोड १० लाख रुपैया, नगद मौज्दात ५ करोड २६ लाख रुपैयाँ छ । संस्थालाई थप उचाईमा पुर्याउन सम्पुर्ण निक्षेपकर्ता, शेयर सदस्यको महत्त्वपूर्ण भूमीका हुने संस्थाका कोषाध्यक्ष उत्तम शर्माले केही मानिसले बदमासी गर्दा सिङ्गो सहकारी बदनाम भएको बताए । हाल संस्थामा साधारण २ हजार ६८८ रहेका छन् । संस्थाका अध्यक्ष सुनिल कर्मचार्यलगायतले ज्येष्ठ शेयर सदस्य प्रताप मेहर श्रेष्ठ, उत्कृष्ट बचतकर्ता कान्छु बहादुर श्रेष्ठ, उत्कृष्ट असल ऋणी मनिषा गुरूङलाई सम्मान गरेका थिए ।