काठमाडौं। ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको महत्त्वलाई ध्यानमा राखेर सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिङ सेन्टरमा बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ । नवजात शिशुको उचित शारीरिक तापक्रम राख्न र हाइपोथर्मिया (अल्पताप)को जोखिमबाट जोगाउन बेबी वार्मर मेसिनहरू प्रदान गरेको बताइएको छ । बैंकले बैतडीको दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट हेल्थ पोस्ट, दार्चुलाको लेकम नगरपालिका–२, शर्मौलीस्थित शर्मौली हेल्थ पोस्ट र अपिहिमाल गाउँपालिका–५, सौगन्नास्थित सौगन्ना
आधारभूत स्वास्थ्य केन्द्रमा बेबी वार्मर सहयोग गरेको हो । त्यस्तै बैंकले बाजुराको बुढीगंगा नगरपालिका–२ ब्रह्मटोलस्थित ब्रह्मटोल हेल्थ पोस्टमा पनि बेबी वार्मर सहयोग गरेको छ ।
यी स्वास्थ्य संस्थामा बैंकका मार्केटिङ, ब्रान्डिङ तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशलजंग अधिकारीले स्वास्थ्य संस्थाका अधिकारीहरूको उपस्थितिमा सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालीम पनि प्रदान गरिएको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत हालसम्म देशभर ५९ ओटा बेबी वार्मर मेसिन प्रदान गरिसकेको बताएको छ । यी उपकरणमार्फत हरेक वर्ष करीब २ हजारभन्दा बढी शिशुको जीवन रक्षामा सहयोग पुगेको बताइएको छ । हालसम्मको यो योगदानले करीब १० हजारभन्दा बढी शिशुले प्रत्यक्ष रूपमा लाभ लिएका छन् ।