काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (एसडीसीईओ) र सहायक महाप्रबन्धक (एजीएम) पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धकमा बलदेव थापालाई पदोन्नति गरेको हो ।
बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव रहेका नव–नियुक्त एसडीसीईओ बराल १६ महीनादेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । चार्टर्ड एकाउन्टेन्ट बरालसँग भारतको बिडिओ इन्टरनेशनल, नेपालको नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहको सफल कार्यानुभव छ । उनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा पूर्व सञ्चालक तथा हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष हुन् । बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव र विशेषज्ञता भएका नव–नियुक्त एजीएम थापाले नेपाल बैंक लिमिटेडबाट बैंकिङ यात्रा शुरुवात गरी विभिन्न वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकमा काम गरेको अनुभव छ । ७ वर्षदेखि ज्योति विकास बैंकमा आवद्ध थापाले प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारीकरण अधिकृत, मानव संसाधन विभाग प्रमुख तथा कम्पनी सचिवको कार्यभार सम्हाली सकेका छन् ।