काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १८ दशमलव ३५ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीले रू. ६ करोड ५ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ७ करोड १६ लाख पुगेको हो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी सामान्य बढे पनि वित्तीय खर्च घटेकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको वित्तीय खर्च रू. २ करोड ९५ लाख रहेकोमा चालू आवमा घटेर रू. १ करोड ७३ लाखमा सीमित भएको छ । त्यस्तै कम्पनीको विद्युत विक्री आम्दानी गत आवमा रू. १५ करोड ३३ लाख रहेकोमा चालू आवमा रू. १५ करोड ४७ लाख पुगेको छ ।
चुक्ता पूँजी रू. ७९ करोड ३५ लाख रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा ८ करोड २५ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव ९४, मूल्य आम्दानी अनुपात ३६ दशमलव ९७ गुणा र प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ४६ छ ।