काठमाडौं। काठमाडौंमा ‘सातौं वार्षिक पानी र शान्ति सेमिनार २०२५’ शुरू भएको छ । ‘कूटनीति, संवाद, विमर्श : समावेशी जल सहयोगका सम्भावना र चुनौतीहरू’ नारासहित बुधवारदेखि दुईदिने सेमिनार शुरू भएको हो ।
सेमिनारमा नेपालसहित विभिन्न देशका जल नीति विशेषज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद्हरू, नागरिक समाजका प्रतिनिधि तथा नीति निर्माताहरूको सहभागिता छ । कार्यक्रममा प्रस्तुति दिँदै दक्षिण एसियाली विश्वविद्यालयका उपाध्यक्ष (आउटरिच) प्रा. सञ्जय चतुर्वेदीले नेपाललाई जल कूटनीतिको केन्द्रका रूपमा प्रस्तुत गर्दै नेपाल विश्वकै ठूलो ताजा पानीको स्रोत रहेको हिमालय क्षेत्रको अभिन्न हिस्सा
भएको बताए । सेमिनारकी संयोजक तथा दक्षिण एसियाली विश्वविद्यालयकी एसोसिएट प्रोफेसर मेधा विष्टले हिमाली नदीहरूको जल कूटनीतिमा ठूला सुधारको आवश्यकता रहेको बताइन् । ‘यस्ता छलफलहरूले अन्य देशका उत्कृष्ट अभ्यास सिक्ने अवसर दिनुका साथै समावेशिता र सहभागिताका चुनौती बुझ्न मद्दत गर्छ,’ उनले भनिन् । आइएचई डेल्फ्टको जल प्रशासन विभाग प्रमुख सुजाने स्कीमेरले जल स्रोतहरूको बाँडफाँडमा सरकार, नागरिक समाज, महिला, युवा, र आदिवासी समुदायको सहभागिताको महत्त्व औंल्याइन् । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेशन एन्ड एन्गेजमेन्टका अनुसन्धान निर्देशक प्रमोद जैसवालका अनुसार सेमिनारमा ३० देशका ६० भन्दा बढी प्रत्यक्ष तथा ५० भन्दा बढी अनलाइनमार्फत सहभागी छन् ।