अमेरिकी आयातमा राष्ट्रपति ट्रम्पले बढाएको भन्सार शुल्कले पहिल्यै अनुमान गरिएको अस्थिर आर्थिक अवस्थामा ठूलो जोखिम थपेको छ । केही महत्त्वपूर्ण सूचकहरूले २०२५ मा मन्दी आउने संकेत गरिरहेका छन् । १० प्रतिशतको भन्सार वृद्धि आफैमा पर्याप्त हानिकारक हुन सक्छ ।
चीन, भारत र यूरोपेली संघजस्ता प्रमुख व्यापार साझेदारहरूका लागि केही आयात शुल्क ५० प्रतिशतम्म पुगेपछि यसले उपभोक्ता खर्चमा कटौती, उत्पादनकर्तालाई नोक्सान र समग्र आर्थिक वृद्धिमा भार पार्न सक्ने अर्थशास्त्री र बजार विश्लेषकहरूले चेतावनी दिएका छन् ।
यसमा बढ्दो मुद्रास्फीति, आक्रामक ब्याजदर नीति, उपभोक्ता ऋणमा वृद्धि र राजनीतिक अनिश्चितता जोडिएपछि वर्षको अन्त्यअघि मन्दीको सम्भावना झनै बढेको देखिन्छ । प्रमुख मन्दीका कारकहरू र सम्भावित प्रभावहरूको विश्लेषण गरेर हामी आर्थिक आँधीबाट जोगिने व्यावहारिक उपायहरूबारे विचार गर्न सक्छौं ।
मन्दी किन आउँछ ?
नेशनल ब्यूरो अफ इकोनामिक रिसर्चका अनुसार मन्दी भनेको केही महीनाभन्दा बढी समयसम्म, सम्पूर्ण अर्थव्यवस्थामा फैलिएको आर्थिक गतिविधि व्यापक रूपमा घट्नु हो जुन प्राय: वास्तविक जीडीपी, आम्दानी, रोजगारी, औद्योगिक उत्पादन र थोक तथा खुद्रा विक्रीमा देखिन्छ ।
उच्च मुद्रास्फीति : लामो समयसम्मको उच्च मुद्रास्फीतिले उपभोग क्षमता घटाउँछ र अर्थतन्त्रमा जटिल अवस्था ल्याउँछ । जब मूल्यहरू तलबभन्दा छिटो बढ्छन्, उपभोक्ताहरूले खर्च कटौती गर्नुपर्ने, बचत प्रयोग गर्नुपर्ने वा ऋण लिनुपर्ने बाध्यता हुन्छ । यसले अन्तत: माग घटाउँछ, जसले गर्दा उत्पादन कटौती, बेरोजगारी र थप खर्च कटौती गराउँछ । यसबाट मन्दीको नकारात्मक चक्र शुरू हुन्छ । हालको तथ्यांकअनुसार, २०२३ को ९ दशमलव १ प्रतिशत वृद्धि पछि मुद्रास्फीति केही कम भए पनि २०२५ को पहिलो त्रैमासिकमा उपभोक्ता मूल्य सूचकांक फेरि ४. दशमलव २ प्रतिशत माथि पुगेको छ । विशेष गरी सेवा, आवास र खाद्यान्नजस्ता क्षेत्रमा मुद्रास्फीति स्थायी हुँदै गएको देखिन्छ ।
अमेरिकी केन्द्रीय बैंकले ब्याजदरलाई अपेक्षाभन्दा लामो समयसम्म उच्च राखेको छ । हालको फेडरल फन्डको दर ४ दशमलव ३४ प्रतिशत छ । इतिहास हेर्दा यस्तो अवस्था १७/१८ महीनाभन्दा बढी चल्दा मन्दीको सम्भावना धेरै बढ्ने गर्छ । अहिले हामी ३०औं महीनामा छौं जुन खतराको घण्टी हो ।
विश्वव्यापी आर्थिक सुस्ती : ग्लोबलाइज्ड विश्वमा अन्तरराष्ट्रिय अर्थतन्त्रले घरेलु अर्थतन्त्रमा गहिरो प्रभाव पार्छ । चीनमा उत्पादन घट्दै गएको, यूरोपमा ऊर्जा संकट जारी रहेको र विकासोन्मुख मुलुकहरूमा वृद्धि सुस्त भएको हुँदा अमेरिकाको निर्यात र बहुराष्ट्रिय कम्पनीहरूका लागि नकारात्मक संकेत हो ।
अन्तरराष्ट्रिय मुद्राकोषले गत ९ महीनामा विश्व आर्थिक वृद्धिको पूर्वानुमान तीनपटक घटाएको छ । चीनको उत्पादन चार त्रैमासिकसम्म लगातार घट्दै गएको छ, जसले अमेरिकी आपूर्ति शृंखलामा गम्भीर असर पार्न सक्छ ।
वित्तीय संकट : बैंकिङ, रियल इस्टेट वा अन्य सम्पत्ति बजारमा अस्थिरता आएमा मन्दी द्रुत गतिमा फैलिन्छ । अहिले व्यावसायिक रियल इस्टेट क्षेत्र सबैभन्दा कमजोर देखिएको छ । अफिस खाली हुने दर १९ प्रतिशत नाघेको, सम्पत्तिको मूल्य २५–४० प्रतिशतले घटेको र आगामी २४ महीनामा १ दशमलव २ ट्रिलियन डलर ऋण पुनर्वित्त गर्नुपर्ने अवस्था छ । व्यावसायिक सम्पत्तिमा बढी लगानी गर्ने क्षेत्रीय बैंकहरूले २०२३ को सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकले जस्तै संकट झेल्नुपर्ने हुन सक्छ ।
मन्दी आएमा के हुन्छ ?
यदि २०२५ मा मन्दी आयो भने यसको असर व्यापक हुनेछ । बेरोजगारी तीव्र रूपमा बढ्नेछ, विशेष गरी निर्माण, उत्पादन, खुद्रा व्यापार र आतिथ्य क्षेत्रमा । कंग्रेसनल बजेट अफिसका अनुसार मध्यम स्तरको मन्दीमा बेरोजगारी दर ४ दशमलव २ बाट बढेर ६ दशमलव ५–७ दशमलव ५ प्रतिशत पुग्न सक्छ । साना व्यवसायहरू अझ बढी प्रभावित हुनेछन् । शेयरबजारमा ४५–८ ट्रिलियन अमेरिकी डलर बराबरको सम्पत्ति गुम्न सक्छ । सरकारी आम्दानी घट्नेछ तर बेरोजगारी सहायता, खाद्य सहायता र स्वास्थ्य अनुदानजस्ता कार्यक्रमहरूको खर्च बढ्नेछ । ट्रम्प प्रशासनले केही सुरक्षा जालहरू हटाएकाले यो अवस्थामा केही कार्यक्रमहरू अस्तित्वमै नहुन सक्छन् ।
महत्त्वपूर्ण आर्थिक सूचकहरू
जीडीपी वृद्धि : २०२५ को पहिलो त्रैमासिकमा वार्षिक वृद्धिदर केवल १.१ प्रतिशत रहेको छ, जुन दीर्घकालीन औसत २ दशमलव २ प्रतिशतभन्दा निकै कम हो । यसमा निजीक्षेत्रको योगदान निकै कम देखिएको छ ।
बेरोजगारी दर : हालको बेरोजगारी दर ४ दशमलव २ प्रतिशत भए पनि प्रारम्भिक बेरोजगारी दाबीहरू लगातार ६ महीनासम्म बढ्दै गएका छन् । अस्थायी रोजगारी ९ महीनादेखि घट्दै गएको छ । मुद्रास्फीति र ब्याज दर : १० वर्ष र ३ महीनाको अमेरिकी ट्रेजरीको ब्याजदरबीचको दूरी यिल्ड कर्भ २०२२ जुनदेखि उल्टिएको छ । यो उल्टो हुँदा मन्दीको सम्भावना उच्च हुन्छ । हालको एक सर्वेअनुसार ६५ प्रतिशत अर्थशास्त्रीले २०२५ को अन्त्यअघि मन्दी आउन सक्छ भन्ने विश्वास गरेका छन् । २००८ को संकट भविष्यवाणी गरेका नुरिएल रुबिनी ८० प्रतिशत सम्भावना देखाउँछन् । ल्यारी समर्सले पनि उच्च सम्भावना बताएका छन् ।
मन्दीमा बच्ने तयारी कसरी गर्ने ?
६–९ महीनाको आवश्यक खर्चको जगेडा राखी आकस्मिक कोष बनाउनुपर्छ । लगानीमा सावधान हुनुपर्छ । स्वास्थ्य, अत्यावश्यक वस्तु र ऋणपत्रहरूमा ध्यान दिनुपर्छ । ऋण घटाउनुपर्छ । विशेष गरी क्रेडिट कार्ड, समायोज्य घर ऋण चाँडै तिर्नुपर्छ । २०२५ को पहिलो भागमा आर्थिक अवस्था कमजोर बन्दै गएको छ । मुद्रास्फीति, उच्च ब्याजदर, बढ्दो ऋण र व्यापार तनावले मन्दीको खतरा गम्भीर बनाएको छ । अब यसलाई बेवास्ता गर्न सकिँदैन । तयारी गर्नु नै अहिलेको बुद्धिमानी हो ।
(फोब्र्समा प्रकाशित जेसन किर्शको विश्लेषणको नेपाली भावानुवाद)
बढ्दो मुद्रास्फीति, आक्रामक ब्याज दर नीति, उपभोक्ता ऋणमा वृद्धि र राजनीतिक अनिश्चितता जोडिएपछि वर्षको अन्त्यअघि मन्दीको सम्भावना
झनै बढेको देखिन्छ ।