काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६ करोड ७५ लाख नोक्सानीमा छ । गत आवको सोही अवधिमा भने कम्पनी रू. १३ लाख ५३ हजार नाफामा थियो । चालू आवमा कम्पनीको खराब कर्जा बढेकाले नोक्सानीमा गएको हो ।
गत आवमा कम्पनीको खराब कर्जा ४ दशमलव ९४ प्रतिशत रहेकोमा चालू आवमा बढेर ७ दशमलव ८५ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा ३३ दशमलव ८९ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा रू. ६ करोड ७६ लाख ऋणात्मक छ । चालू आवमा कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ११ रुपैयाँ २१ पैसा ऋणात्मक छ । सो अवधिमा कम्पनीको तरलता अनुपात ९ दशमलव ३५ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय २९ रुपैयाँ ९५ पैसा रहेको छ ।
चुक्ता पूँजी रू. ७२ करोड १४ लाख रहेको कम्पनीले जगेडामा रू. १८ करोड ९० लाख र शेयर प्रिमियममा रू. ७ करोड २९ लाख सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. ४ करोड ५९ लाख ऋणात्मक छ ।