कर्मचारीको उत्प्रेरणा व्यवस्थापकीय कार्यकुुशलता र इच्छाशक्तिमा भर पर्छ । समझदारी, सद्भाव, प्रशंसा र वित्तीय तथा गैरवित्तीय सुविधा कर्मचारी उत्प्रेरणाको प्रमुख स्रोत हुन् । उत्प्रेरणा परिवर्तनशील भएको हुँदा परिवर्तित अवस्था अनुसार कर्मचारी तथा कामदारका समस्याको समाधानमा व्यवस्थापनले ध्यान दिनुपर्छ । व्यवस्थापनबाट समयमा ध्यान नपुर्याई गरिएको निर्णयबाट सर्वत्र व्यवस्थापन नै आलोचित भई अदालतद्वारा व्यवस्थापकीय निर्णय बदर भएका घटना नेपालमा प्रशस्त छन् । एउटा कर्मचारीप्रति आग्रह र पूर्वाग्रह राख्दा समस्त कर्मचारीमा नकारात्मक असर पर्छ भन्ने कुरा व्यवस्थापकले समयमा नै बुझ्न जरुरी छ ।
कर्मचारी उत्प्रेरणामा व्यवस्थापनको मुख्य भूमिका हुन्छ । संगठनको कामप्रति लगनशील बनाउन, दक्ष र कुशल बनाउन, काम गर्ने इच्छा जगाउन उत्प्रेरणाको आवश्यकता पर्छ । संगठनमा काम गर्ने कर्मचारीलाई नियम कानून विपरीतका कार्य गराउन दबाब दिने, सरुवा, कारबाहीका धम्की दिने, नियमित कार्यालय बैठक नराख्ने कामले प्रेरणा दिँदैन । कार्यालयको नियमित क्रियाकलापमा पारदर्शिता, जवाफदेहिता र इमानदारीको अभाव र सुशासनको अभाव कर्मचारी उत्प्रेरणाका घातक पक्ष हुन् । नेपालको प्रशानिक क्षेत्र, बैंकिङ क्षेत्र लगायतमा कर्मचारी उत्प्रेरणाको क्षेत्रलाई आधार बनाई हालै गरिएको अध्ययन अनुसार नेपालका कुल कर्मचारीमध्ये २५ प्रतिशत कर्मचारीले मात्र आपूm आप्mनो कार्य र व्यवस्थापकीय कार्यप्रति सन्तुष्ट रहेको देखिएको छ । बाँकी ७५ प्रतिशत कर्मचारीमा व्यवस्थापकीय पक्षपात, प्रधानमन्त्रीदेखि मन्त्री, सचिव र अन्य उच्च प्रशासकबाट नियम मिचेर काम गर्न दबाब दिने, नातावाद र कृपावाद तीव्र हावी हुने, सरुवा प्रणाली व्यवस्थित नभएको र हालको महँगी अनुसारको तलब भत्ता समेत नभएको हुँदा कर्मचारीमा तनाव छ । परिवार पाल्न र दैनिक गुजारा गर्न समेत कठिन भएको भन्दै असन्तृष्टि व्यक्त गरेको पाइन्छ ।
कुशल संगठनका लागि कर्मचारी उत्प्रेरणाको महत्त्व निकै छ । कामदारलाई बढी उत्पादनशील बनाउन, व्यवस्थापकीय दक्षता आर्जन गर्न, प्रविधिलाई कुशलतापूर्वक परिचालन गर्न, कामप्रति प्रतिबद्ध बनाउन, कार्यलाई शीघ्रता दिन, गयल तथा संगठन छाड्ने दर कम गर्न उत्प्रेरणा चाहिन्छ । कर्मचारीको मनोबल बढाउन, नाफा बढाउन, औद्योगिक शान्ति कायम गर्न पनि उत्प्रेरणा चाहिन्छ । कर्मचारीको स्थायित्वका लागि साथै संगठनात्मक लक्ष्य प्राप्तिका लागि उत्प्रेरणा कोसेढुंगा हो । उत्प्रेरणालाई प्रभाव पार्ने मौद्रिक तथा गैरमौद्रिक तत्त्वहरू छन् । यसको प्रकारलाई हेर्दा सकारात्मक र नकारात्मक उत्प्रेरणा छन्, तथापि नेपालमा सकारात्मक औजारभन्दा पनि उत्प्रेरणाको नकारात्मक औजार प्रयोग गरी काममा लगाएका प्रशस्त उदाहरण देखिन्छन् । जागीरका लागि लामो संघर्ष गरेको, सीमित स्रोतसाधन तथा तलब भत्ता भए पनि सेवाप्रति प्रतिबद्ध रहेको, नोकरीलाई सुरक्षित भविष्यका रूपमा लिएको पाइन्छ । अनिवार्य अवकाश पछि पनि कार्य गर्ने इच्छा जागृत भएको देखिन्छ । तलब, सुविधा न्यून भएकाले जागीरप्रति अनाकर्षण भएको पनि पाइन्छ । शिक्षित व्यक्ति विदेश पलायन भएका छन् । कार्यसम्पादन मूल्यांकनप्रति सन्तुष्ट नरहेको पाइन्छ । सभागितामूलक व्यवस्थापनको परिपाटी न्यून छ । कर्मचारीबीच सेवासुविधा र पदीय मर्यादाको विभेद छ । चाकडी र चाप्लुसी, नातावाद र कृपावादले प्रश्रय पाएको छ । प्रशासनिक नेतृत्व अक्षम छ र सेवासुविाधमा असमानता छ । वृत्ति विकासको न्यूनता छ । त्यसैले परम्परागत कर्मचारी प्रशासनको कारण उत्प्रेरणाको अवस्था खस्किएको छ । कर्मचारी भनेको स्थायी सरकार हो । तसर्थ यसलाई जिस्काउनु मौरीको गोलोमा हात राख्नुसरह मानिन्छ । यसले मह पनि दिन्छ र जिस्काएमा टोक्छ पनि ।
उत्प्रेरणाका लागि आर्थिकभन्दा गैरआर्थिक सुविधा र वातावरण महत्त्वपूर्ण मानिन्छ । सम्पादन गर्नुपर्ने कार्यको सूची, सहकर्मी, सुपरिवेक्षक र सेवाग्राहीबाट प्राप्त सम्मान र प्रतिक्रिया, सम्पादन गरिने लक्ष्य किटान, जिम्मेवारी तथा अख्तियारीजस्ता गैरवित्तीय तŒवहरूले कर्मचारीमा उत्प्रेरणा जगाउँछ । हाल नेपालमा सुदृढ वित्तीय सुविधा हुँदाहुँदै पनि सम्पन्न गर्नुपर्ने कार्यप्रति द्विविधा देखिन्छ । राजनीतिक हस्तक्षेप र लक्ष्यप्रति उदासीन भएका कारण संगठनहरू आफ्नो समस्याबाट मुक्त हुन सकेका छैनन् । उत्प्रेरित कर्मचारीको विस्तार तथा विकासका लागि प्रधानमन्त्रीदेखि तलका सबै व्यवस्थापकले अपनाउनु पर्ने मुख्य भूमिकाहरू विभिन्न छन् । पुरस्कार तथा कार्यसम्पादनलाई एकआपसमा जोड्ने, कर्मचारीको मनोविज्ञान बझी तदनुरूप कार्य गर्ने, बजार मूल्यको आधारमा तलब भत्ताको समायोजन गर्ने, क्षमता अभिवृद्धका लागि तालीमको व्यवस्था गर्ने आदि काम गर्न सकिन्छ । काम र व्यक्ति दुवै विषयलाई सम्मान र पहिचान दिनु आवश्यक छ । क्षमताको आधारमा अधिकार र कर्तव्यको निर्धारण हुनुपर्छ । राजनीतिक हस्तक्षेपलाई बन्द गर्नुपर्छ । नातावाद र कृपावादलाई प्रश्रय दिन हुँदैन । कार्यसम्पादनको आधारमा क्षतिपूर्ति व्यवस्थापन गर्ने, कर्मचारीमा आशा र भरोसा बढाउने, नियम कानूनभन्दा बाहिर गई कार्य गर्न दबाब नदिने आदि काम पनि यसमा पर्छन् ।
कार्य सन्तुष्टि भनेको एउटा व्यक्तिको उसको कामप्रतिको साधारण मनोवृत्ति हो । कार्य सन्तुष्टिको प्रमुख आधार तलब, काम, बढुवा, कार्य वातावरण, कार्यसूची र सुपरिवेक्षण हुन् । हरेक व्यवस्थापकले भुल्नु हुँदैन : कर्मचारीको व्यक्तिगत आवश्यकता पूर्ति हँुदा कर्मचारीको विश्वास उच्च हुन्छ । व्यक्तिका कामहरूको मूल्यांकन समान र एकरूपताको आधारमा गरिनुपर्छ । उत्प्रेरणाको साध्य मुद्रा मात्र होइन । समय र आवश्यकता अनुसार उत्प्रेरित हुने साधनहरूमा विविधता हुँदै जान्छ भन्ने हो । नेपालमा उत्प्रेरणाको चुनौती दिनप्रतिदिन वृद्धि भएको देखिन्छ । राजनीतिक विचारधारा, विविधता, न्यस्न शीप र दक्षता कर्मचारी प्रशासनका चुनौती हुन् । करार तथा अस्थायी कर्मचारी, राजनीतिक हस्तक्षेप, नातावाद, चाकडीवाज र कृपावाद, सही पृष्ठपोषणको अभाव, व्यक्तिगत विभिन्नता पनि यसका चुनौती हुन् । समयसापेक्ष तालीमको अभाव, ट्रेड युनियनको विस्तार, बढ्दो नैराश्य र मुद्रास्फीति आदि विद्यमान कर्मचारी प्रशासनका चुनौती हुन् ।
नेपालका सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारीमा उत्प्रेरणा खस्कनुमा व्यवस्थापकीय नेतृत्व छनोटमा तीव्र राजनीतिक हस्तक्षेप हुँदा कुशल, अनुभवी र दक्षताको अभाव हुनु स्वाभाविक मानिन्छ । यसले कर्मचारीलाई सही, प्रेरणादायी र उत्प्रेरित नेतृत्व दिन सक्दैन । स्थायी र दिगो संस्थागत विकास एवम् सुशासनको सुदृढीकरणका लागि हस्तक्षेपरहित व्यावसायिक, दक्ष र कुशल कर्मचारी प्रशासनको अवधारणाको विकास गर्न ढिला भइसकेको छ ।
लेखक बैक तथा वित्तीय संस्था सम्बन्धी विज्ञ हुन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.