चालू आर्थिक वर्ष (आव) २०८१/८२ को प्रथम ९ महीनाको कुल वैदेशिक व्यापारमा गतवर्षको सोही अवधिको तुलनामा १६ दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागबाट प्रकाशित तथ्यांक अनुसार चालू आवको प्रथम ९ महीनामा रू. १३०९ अर्ब ५३ करोड रुपैयाँको आयात भएको छ जुन गत वर्षको सोही अवधिमा भएको रू. ११६७ अर्ब ३७ करोड रुपैयाँको तुलनामा करीब १२ दशमलव १८ प्रतिशतले बढी हो । यस अवधिमा निर्यातमा पनि उल्लेखनीय सुधार आएको छ । यद्यपि व्यापारघाटा उच्च नै रहेको छ । गतवर्ष यस अवधिमा रू. ११३ अर्ब ९५ करोडको निर्यात भएकोमा यस वर्ष रू. १८८ अर्ब २० करोड रुपैयाँको निर्यात भई ६५ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । व्यापारघाटा यस वर्ष गत वर्षको तुलनामा करीब ६ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ ।
प्रमुख आयात
चालू आवको प्रथम ९ महीनामा मूल्यका दृष्टिले सबैभन्दा बढी मूल्यको आयातित मालवस्तुमा पेट्रोलियम तथा कोइला शीर्षकअन्तर्गत रहेको छ । यिनको आयात मूल्य रू. २३६ अर्ब ७३ करोड रहेको छ । यस अवधिमा आयात भएको पेट्रोलियम तथा कोइला शीर्षकको अंश कुल आयातमा करीब १८ प्रतिशत रहेको छ । दोस्रोमा फलाम तथा इस्पात (आयात मूल्य रू. १०४ अर्ब ४८ करोड) रहेको छ । यसको आयात कुल आयातको करीब ८ प्रतिशत अंश रहेको छ । तेस्रोमा जीवजन्तुको बोसो तथा वनस्पतिको तेल (आयात मूल्य रू. १०१ अर्ब ९४ करोड) रहेको छ जसको आयात अंश कुल आयातमा करीब ८ प्रतिशत रहेको छ । चौथोमा मेशिनरी तथा सम्बद्ध उपकरणहरू (आयात मूल्य रू. ८८ अर्ब ४८ करोड) र पाँचौंमा विद्युतीय उपकरणहरू (आयात मूल्य रू. ८६ अर्ब १० करोड) रहेको छ । यी दुवै वस्तु प्रत्येकको अंश ७ प्रतिशत रहेको छ । यस अवधिमा आयातित यी प्रमुख पाँच वस्तुले कुल आयातको ४७ प्रतिशत अंश ओगटेका छन् ।
प्रमुख निर्यात
चालू आवको प्रथम ९ महीनामा सबैभन्दा बढी मूल्यको भटमासको तेल निर्यात भएको छ । यसले कुल निर्यातको ३३ प्रतिशत अंश ओगटेको छ । यसको निर्यात मूल्य रू. ६२ अर्ब ७८ करोड रहेको छ । मूल्यको तुलनाका हिसाबले यसको निर्यात निकै उच्च भएको देखिन्छ । अन्य प्रमुख निर्यात हुने वस्तुहरूमा सूर्यमुखी तेल, गलैंचा (कार्पेट) र कपडाजन्य अन्य भुइँ ढाक्ने वस्तुहरू (फ्लोर कभरिङ्स), अलैंची र एलुमिनियम, जिङ्क मिश्रण धातुको जलप लगाएको फलाम पाता रहेका छन् । यी पाँच वस्तुको निर्यातले कुल निर्यातको ४८ प्रतिशत अंश ओगटेको छ ।
राजस्व सङ्कलन
चालू आवको चैत महीनासम्मको वस्तु आयातबाट रू. ३४३ अर्ब ११ करोड राजस्व सङ्कलन भएको छ । समीक्षा अवधिमा सबैभन्दा बढी राजस्व सङ्कलन पेट्रोलियम पदार्थ तथा कोइला शीर्षक अन्तर्गतका उपशीर्षकमा डिजेल (राजस्व सङ्कलन रू. ४० अर्ब ३९ करोड), पेट्रोल (रू. ३१ अर्ब ९ करोड), एलपी ग्यास (रू. ८ अर्ब ६९ करोड) गरी जम्मा राजस्व रू., ८० अर्ब १७ करोड अर्थात् २३ प्रतिशत सङ्कलन भएको छ । विद्युतीय कार जीप भ्यान (एचएस कोड ७०३८०५९) आयातबाट रू. ६ अर्ब ९४ करोड र पेट्रोलबाट चल्ने १००० देखि १५०० सीसीसम्म क्षमताका सवारीसाधन आयातबाट रू. ६ अर्ब ८ करोड राजस्व सङ्कलन भएको छ ।
प्रमुख निर्यात वस्तु भटमासको तेल र सम्बद्ध वस्तुको आयात
चालू आवको प्रथम ९ महीनामा सबैभन्दा बढी मूल्यको निर्यात मालवस्तुमा भटमासको तेल रहेको छ । नेपालमा भटमास उत्पादन गर्न सकिने प्रशस्त सम्भावना छ । भटमाससँग सम्बद्ध उत्पादनमध्ये सबैभन्दा धेरै मूल्यमा आयात गरिएका र खास गरी भटमासको प्रशोधित तेल उत्पादनसँग सम्बन्धित आयातहरूमा एचएस कोड १५०७१००० अन्तर्गत पर्ने रासायनिक परिवर्तन नगरेको, प्रशोधित वा अप्रशोधित भटमासको तेलको यस अवधिको आयात रू. ६६ अर्ब ६ करोडको देखिन्छ । कच्चा भटमासको तेलले आयातमा पहिलो डिजेलपछि दोस्रो स्थान लिन सफल भएको छ भने पेट्रोलको आयात तेस्रो स्थानमा पुगेको छ । यसले कुल आयातको ५ प्रतिशत अंश ओगटेको छ । यसको आयात गरिने देशहरूमा अर्जेन्टिना प्रमुख रहेको छ । समीक्षा अवधिमा त्यहाँबाट ३३ करोड ५७ लाख लिटर परिमाणको करिब रू. ५२ अर्बको कच्चा भटमासको तेल आयात भएको छ । यसको आयात भएका अन्य प्रमुख देशमध्ये ब्राजिलबाट ४ करोड ८० लाख लिटर (रू. ७ अर्ब २७ करोड मूल्यको), थाइल्यान्डबाट रू. १ करोड ६५ लाख लिटर (रू. २ अर्ब ३३ करोड मूल्यको), इराकबाट १ करोड २४ लाख लिटर (रू. १ अर्ब ८५ करोड मूल्यको), युक्रेनबाट १ करोड ९ लाख लिटर (रू. १ अर्ब ७३ करोड मूल्यको), चीनबाट ६० लाख लिटर (रू. १ अर्ब २ करोड मूल्यको) आयात भएको छ । एचएस कोड २३०४०००० अन्तर्गत पर्ने भटमासको पीना वा अन्य ठोस अवशेष रू. १० अर्ब ५५ करोडको आयात भएको थियो । आयात गरिने देशहरूमा भारत (१५३ हजार मेट्रिक टन परिमाणको रू. ९ अर्ब ५९ करोड मूल्यको) र संयुक्त राज्य अमेरिका (१२ हजार मेट्रिक टन परिमाणको रू. ९५ करोड मूल्यको) रहेका छन् । एचएस कोड १२०१९००० अन्तर्गत पर्ने बीउबाहेकको दलेको वा नदलेको भटमासको आयात रू. ६ अर्ब ९ करोडको देखिन्छ । आयात गरिने प्रमुख देशहरूमा संयुक्त राज्य अमेरिका (७४ हजार मेट्रिक टन परिमाणको रू. ५ अर्ब ५३ करोड मूल्यको), भारत (५ हजार मेट्रिक टन परिमाणको रू. ४२ करोड मूल्यको) र क्यानाडा (१४५८ मेट्रिक टन परिमाणको रू. ११ करोड ७८ लाख मूल्यको) रहेका छन् । भटमाससँग सम्बद्ध अन्य नगण्य मूल्यका वस्तु यहाँ उल्लेख गरिएको छैन
लेखक तथ्यांक शास्त्री एवं भन्सार विभागका पूर्वकर्मचारी हुन् ।