एक जना छिमेकी दाइ हुनुहुन्छ । उमेरले ६५ वर्ष हुनुभयो । संयोगले निजामती सेवा वा नियमित पेन्सन आउने खालको कुनै जागीर खानुभएन । त्यसो भए तापनि उमेर अवस्था छँदा निजीक्षेत्रमा काम गर्नुभयो र केही पैसा आर्जन पनि गर्नुभयो । आफ्ना आवश्यकताहरू पूरा गर्दैमा भएको कमाइबाट खासै केही बचत हुन सकेन । अवकाशित जीवनका लागि केही जगेर्ना गर्नुपर्छ भन्ने सोच बेलैमा आएन । उमेरले गर्दा अब पहिलेजस्तो शारीरिक परिश्रम गर्ने अवस्था छैन र मानसिक रूपमा पनि केही कमजोरीहरू देखापर्नु स्वाभाविक हो । उहाँका छोराछोरी विदेश छन् । सोचेको जस्तै सजिलो त त्यहाँ पनि कहाँ छ र ? परदेशमा आफ्नो जीविका र छोराछोरीका लागि नै संघर्ष गर्दै छन् । त्यसैले उहाँलाई अब आप्mनो बुढेसकालका आवश्यकता तथा चाहनाहरू कसरी पूरा होलान् भन्ने चिन्ता एकातिर छ भने अर्कातिर सक्रिय जीवन छँदै बुढेसकाल (अवकाशित जीवन)को बारेमा कुनै बलियो सोच राख्न नसकेकोमा अलिकति पश्चात्ताप पनि ।
कुनै पेशाबाट निवृत्त हुने अथवा विश्राम लिने चरण वा अवस्थालाई अवकाश अर्थात् रिटायरमेन्ट भनिन्छ । हाम्रो ठेट नेपाली भाषामा यसलाई बुढेसकाल भन्ने चलन छ । यस्तो रिटायरमेन्ट हुने उमेर विभिन्न देशले आआफ्नो हिसाबले निर्धारण गरेका हुन्छन् । नेपालको सन्दर्भमा निजामती कर्मचारीको ५८ वर्ष, शिक्षकहरू तथा विद्यालयका कर्मचारीहरूको ६० वर्ष, विश्वविद्यालयका प्राध्यापकहरूको ६३ वर्ष, उच्च अदालतका न्यायाधीशहरूको ६३ वर्ष, सर्वोच्चका न्यायाधीशहरूको ६५ वर्ष रहेको छ । नेपाली सेनाको अवकाश दर्जा अनुसार १६ देखि २० वर्षसम्म सेवा पूरा भएपछि तथा प्रहरीतर्फको अवकाश ३० वर्ष सेवा अवधि पूरा भएपछि हुने व्यवस्था छ । बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरू ५८ वर्ष सेवा गरेपछि अवकाश पाउँछन् । विभिन्न देशका अवकाश उमेरलाई हेर्दा औसतमा ६० देखि ६५ वर्ष हाराहारीको उमेरलाई रिटायरमेन्ट अर्थात् अवकाश हुने उमेर भएको देखिन्छ । यो जीवनको उत्तरार्द्धको समय पनि हो ।
पेन्सन नहुने प्रकृतिका निजीक्षेत्रमा काम गर्ने व्यक्ति वा आफ्नै व्यवसाय गर्ने मानिसहरू पनि जीवनको करीब यही उमेरबाट रिटायरमेन्टको चरणमा प्रवेश गर्छन् । अवकाशको उमेर निर्धारणका आआफ्नै आधारहरू भए तापनि शारीरिक तथा मानसिक हिसाबले पूर्व अवस्थाजस्तै सक्रिय हुन नसक्ने जीवनका रूपमा बुझ्ने गरिएको छ अवकाशको जीवनलाई । यो प्राकृतिक कुरा पनि हो, यद्यपि केही मानिसहरू आफूलाई ७० वर्ष वा त्योभन्दा माथिको उमेरसम्म पनि रिटायर्ड भन्न मन पराउँदैनन् । जे जसो भए पनि अवकाश जीवनको योजना गर्नु भने सबैका लागि जरुरी छ ।
मानिसको औसत आयु लम्बिँदो छ । खानपान, स्वास्थोपचार, जीविकाका न्यूनतम आवश्यकताहरूको सहज आपूर्ति, प्रविधिको विकास आदिले औसत आयु वृद्धिमा प्रभाव पार्छन् । अवकाशको उमेर र औसत आयुबीचको अन्तरलाई सुखी, सजिलो बनाउनकै लागि आवश्यक पर्छ बुढेसकालको अर्थात् अवकाशको योजना ।
२०७८ को जनगणनाको तथ्यले नेपालीहरूको औसत आयु ७१ दशमलव ३ देखाएको छ । विकसित देशहरूको औसत आयुलाई हेर्दा गर्दा करीब ८० देखि ८५ वर्ष देखिन्छ । यसरी सामान्य हिसाबमा अवकाश उमेरपछिको जीवनको अवधि २० देखि २५ वर्षको भन्न सकिन्छ । यसमा पनि केही अपवाद वा फरकपनहरू अवश्य हुन सक्छन् । त्यसैले यो उमेरलाई सजिलोसँग बिताउन त्यसको योजना गर्नु जरुरी छ ।
अवकाश जीवनको योजना देशको आर्थिक सामाजिक अवस्था, मानिसको स्वास्थ्य, जीवनशैली रीतिस्थिति परम्परा, व्यक्तिका इच्छा आकांक्षा लक्ष्य वा सपना आदिमा आधारित हुन्छ । तथापि धेरैजसो कुराहरू मिल्लाजुल्दा नै हुन्छन् । अवकाशको योजना पनि सोही आधारमा सोही आधारमा हुनुपर्छ ।
कसरी गर्ने त अवकाशको योजना ?
अवकाशको जीवनको योजनामा ध्यान दिनुपर्ने मुख्य कुराहरूमा दैनिक जीवनयापनका कुराहरू, स्वास्थ्योपचार, आफ्नो धर्म, परम्पराअनुसारको पूजापाठ, तीर्थव्रत, दानपुण्य र घुमघाम, मनोरञ्जन, सामाजिक सहभागिता, लेखपढ आदि कुराहरू पर्छन् । अतः अवकाशको योजना गर्दा आफ्नो आम्दानी, आफ्ना आवश्यकता तथा चाहनाहरू, स्वास्थ्य, पारिवारिक, सामाजिक तथा सांस्कृतिक दायित्वहरू केके छन् तिनको लेखाजोखा गर्नुपर्छ । परिआउन सक्ने आकस्मिक अवस्थाहरूको सोच पनि राख्नुपर्छ ।
अवकाशको योजना अत्यन्त महत्त्वाकांक्षी भन्दा पनि आफ्नो यथार्थ अवस्थामा आधारित भई बनाउनुपर्छ । अवकाशको जीवनलाई सुखी बनाउन योग, ध्यान, व्यायाम सामूहिक सहभागिता आदि सामाजिक पक्षहरू पनि महत्त्वपूर्ण छन् । तथापि अवकाशको योजनामा आर्थिक पक्ष नै मुख्य देखिन्छ ।
१. पहिल्यैदेखि अवकाशका लागि बचत गर्ने
भविष्यको सजिलोका लागि भनेर कमाइको केही नगद छुट्ट्याएर राख्नु बचत हो । बचत आफ्ना वित्तीय लक्ष्यहरूका आधारमा गरिन्छन् । अवकाश जीवनका लागि केही निश्चित रकम जम्मा गर्ने कुरा पनि वित्तीय लक्ष्यभित्रै पर्छ । बेलैदेखि अर्थात् सक्रिय उमेरदेखि नै बचत गर्दै जाँदा अवकाश जीवनका लागि सजिलो हुन्छ । सामान्यतया आफ्नो मासिक आम्दानीको कम्तीमा १० प्रतिशत बचत गर्नु भविष्यका लागि धेरै राम्रो कुरा हो ।
दैनिक रू. १०० मात्र बचत गर्ने हो भने पनि चक्रवृद्धि ब्याजको हिसाबमा २० वर्षमा नै करीब २३ लाख हुन आउँछ । अर्को उदाहरण हेरौं । दैनिक रू. ५० बचत गरियो भने १० प्रतिशत मात्र ब्याज आउने हिसाबमा पनि ३५ वर्षमा करीब ४५ लाख रुपैयाँ जम्मा हुन्छ । यस हिसाबमा २५ वर्षको उमेरदेखि बचत शुरू गर्दा ६० वर्षमा उक्त रकम जम्मा भइसक्छ । उक्त ४५ लाखलाई मुद्दती खातामा राख्यो भने १० प्रतिशत मासिक ब्याजका हिसाबले पनि वार्षिक ४ लाख ५० हजार ब्याज हुन्छ अर्थात् मासिक ३७ हजार ५ सय आउँछ । यति सानै बचतको पैसाले पनि अवकाश जीवनमा ठुलै राहत मिल्छ ।
नागरिक लगानी कोषमा कर्मचारी बचत वृद्धि अवकाश कोषको व्यवस्था छ । यसलाई पनि अवकाश जीवन व्यवस्थापनका लागि प्रयोग गर्न सकिन्छ । पेन्सन नहुने मानिसहरूका लागि अहिले कतिपय वित्तीय संस्थाहरूले पेन्सन बचतको व्यवस्था गरेका छन् । यस्ता विभिन्न बचतका स्किमहरूको प्रयोग गरी अवकाश जीवनलाई सजिलो बनाउन सकिन्छ ।
२. सम्भाव्यता हेरी लगानी गर्ने
पैसा लगानी गर्नु भनेको पैसालाई काममा लगाउनु हो । शेयर मार्केट, म्युचअल फन्ड आदि लगानीका मुख्य क्षेत्र हुन सक्छन् । यस्ता क्षेत्रमा लगानी गर्दा लगानीबाट आउनसक्ने प्रतिफलको राम्रो लेखाजोखा गर्नुपर्छ । वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूले वैदेशिक रोजगार बचत पत्रमा लगानी गर्न सक्छन् ।
कुनै सम्भाव्य व्यवसायमा लगानी गर्नुले पनि अवकाशको जीवनलाई आवश्यक पर्ने पैसा आउन सक्छ । घर, जग्गा, वा कुनै सम्पत्ति जोडियो भने बुढेसकालमा त्यसलाई बेचेर आवश्यक रकम लिन सकिन्छ ।
३. रिभर्स मोर्गेज लोनको प्रयोग
ग्राहकहरूको जीवनयापनलाई सहज बनाउन उनीहरूको सम्पत्ति (घर वा अन्य स्थिर सम्पत्ति आदि) लाई धितोमा राखी बैंकहरूले ग्राहकहरूलाई किस्ताका रूपमा पैसा उपलब्ध गराउने प्रणाली रिभर्स मोर्गेज लोन हो ।
यसमा ग्राहकसँग भएको सम्पत्तिको जोखिम मूल्याङ्कन र उनीहरूको सम्पत्तिलाई धितोका रूपमा राखेर बैंकहरूले ग्राहकलाई किस्ता किस्तामा रकम उपलब्ध गराउँछन् । अन्य ऋण प्रक्रियाभन्दा यो उल्टो छ, अर्थात् ग्राहकले बैंकलाई किस्ता तिनुपर्नेमा बैंकले नै ग्राहकलाई किस्ता किस्तामा रकम उपलब्ध गराउँछ । अवकाश जीवन अर्थात् बुढेसकालको लागि यो राम्रो योजना हो । पेन्सन नभएका र अन्य वैकल्पिक आम्दानीसमेत नभएका मानिस ज्येष्ठ नागरिकलाई जीवनयापन गर्न यसले धेरै सजिलो बनाउँछ ।
६० वर्ष उमेर पुगिसकेका मानिस अर्थात् ज्येष्ठ नागरिकलाई बैंकहरूले ऋण दिन त्यति सहज मान्दैनन् । यस्तो अवस्थाले आफ्ना अवकाश जीवनका खर्चहरूको जोहो गर्न ज्येष्ठ नागरिकहरूलाई असजिलो हुन्छ । राज्यले दिने सामाजिक सुरक्षा भत्ता पनि न्यून नै छ । ज्येष्ठ नागरिकले पाउने स्वास्थ बीमा र स्वास्थ्य उपचार आदि अन्य सुविधाहरू पनि अपेक्षित प्रभावकारी छैनन् । त्यसमा पनि ती कतिपय सुविधा लिन हालको नियमअनुसार ६८ वर्ष उमेर पुगेको हुनुपर्छ । अर्कोतर्फ सन्तानहरू विदेशिने लहरले अवकाश उमेर भएका मानिसहरूको जीवन आर्थिक स्रोतको हिसाबले पनि असहज बन्दै गएको छ । आफ्नो स्वामित्वमा रहेको सम्पत्ति बेचेर नगद लिइहाल्ने विषय पनि त्यति सहज छैन, त्यसमा केही व्यावहारिक समस्याहरू आइपर्छन् । यस्तो अवस्थामा रिभर्स मोर्गेज लोन उपयुक्त विकल्प हुने देखिन्छ ।
रिभर्स मोर्गेज लोनको अवधारणा सन् १९८० को दशकतिरै आएको देखिन्छ र संसारका धेरै देशमा यसको अभ्यास भएको छ । छिमेकी देश भारतमै पनि यसको कार्यान्वयन भएको र त्यहाँको केन्द्रीय बैंकले सरकारी तथा निजी दुवै बैंकहरूलाई यसको कार्यान्वयनका लागि बाटो खोलिदिएको छ । वैदेशिक रोजगारीको बढ्दो लहर र शहरमुखी जीवनशैलीले गर्दा नेपालमा पनि यसको धेरै सम्भावना देखिन्छ ।
४. बीमा
भविष्यमा आउनसक्ने अनिश्चित जोखिमका घटनाहरूबाट हुने हानिनोक्सानीको क्षतिपूर्ति पाउन सकिने व्यवस्था हो, बीमा । बीमाका लागि नियमअनुसारको बीमाशुल्क (प्रिमियम) बुझाउनुपर्छ र सोही आधारमा सुविधा लिन सकिन्छ । बीमाका विभिन्न प्रकार छन् जसमध्ये अवकाश जीवनका लागि सावधिक जीवन बीमा उपयुक्त छ । निश्चित समयावधि तोकेर गरिने बीमा हो यो । यसमा तोकिएको अवधि पूरा भएपछि बीमा गर्ने व्यक्ति आफैले बीमाको रकम र बोनस पाउन सक्छ ।
स्वास्थ्य बीमा अवकाश जीवनको लागि उपयोगी हुन्छ । ज्येष्ठ नागरिकका लागि यो बीमा निःशुल्क छ । अवकाश जीवनको स्वास्थ्य उपचारका लागि यो बलियो आधार हो । यसरी विभिन्न बीमा योजनाहरूले पनि अवकाश जीवनको लागि धेरै मद्दत पुर्याउन सक्छन् ।
५. व्यवस्थित लगानी तथा लगानी फिर्ता योजना (सीप र स्वाप)
अवकाश जीवनको योजनाका लागि उपयोगी हुने अर्का योजना हुन्, सीप र स्वाप । योजनाबद्ध तरीकाले नियमित रूपमा लगानी गर्ने विधिलाई सिस्टमिक इन्भेष्टमेन्ट प्लान (सीप) भनिन्छ । यो म्युचुअल फन्ड अर्थात् सामूहिक लगानी कोषमा लगानी गर्ने व्यवस्थित तरीका हो । यसमा निश्चित रकम ताकिएको मितिमा जम्मा गर्दै लगिन्छ । यो लामो अवधिको लगानी हो र धेरै प्रतिफल लिन चाँडै लगानी शुरू गर्न पर्छ । यसमा आफूसँग नगद धेरै भएको बेला धेरै लगानी गर्न पनि मिल्छ ।
आफूले राखेको एकमुष्ट रकम आफूलाई आवश्यकता हुँदा सोहीअनुसार तोकेको समयमा किस्ता किस्तामा रकम फिर्ता लिन सकिने तरीकालाई व्यवस्थित लगानी फिर्ता योजना अर्थात् सिस्टमिक वीदड्रअल प्लान (स्वाप) भनेर बुझिन्छ । उदाहरणका लागि लगानीकर्ताले स्वापको नियमअनुसार एकमुष्ट ५० लाख राखेको छ भने आफूलाई आवश्यक हुँदा नियमित रूपमा (मासिक वा त्रैमासिक आदि) किस्ता किस्तामा तोकिएअनुसारको रकम फिर्ता लिन सक्छ ।
अवकाश जीवनको योजनाको मुख्य आधार पैसा नै भएकाले त्यसको व्यवस्थापन गर्न माथि उल्लिखित कुराहरू महत्त्वपूर्ण छन् । त्यसका अतिरिक्त मानसिक रूपमा पनि आफूलाई क्रियाशील राख्न आफ्ना पेशागत तथा सामाजिक जीवनका अनुभवहरूलाई लिपिबद्ध गर्ने, रुचिअनुसार कथा, कविता, जीवनी आदिजस्ता सृजनात्मक कुराहरूमा आफूलाई सक्रिय राख्ने, योग, ध्यान आदिमा सहभागी हुने गर्न सकिन्छ । यस्ता क्रियाकलापहरूबाट अवकाश जीवन सक्रिय र रमाइलो बन्छ ।
अवकाश जीवन व्यवस्थापनका लागि राज्यले गर्नुपर्ने कामहरू
क) आवश्यक नीति नियमको व्यवस्था र तिनको कार्यान्वयन
नागरिकहरूको अवकाश जीवनको व्यवस्थापनको लागि व्यक्ति स्वयंको व्यक्तिगत योजनाबाहेक राज्यले पनि विशेष ध्यान दिनु जरुरी छ । राज्यले देशको आर्थिक, सामाजिक अवस्था अन्तरराष्ट्रिय अभ्यासहरू, नागरिकका जीवनशैली तथा आवश्यकताहरूको राम्रो विश्लेषण गरिकन आवश्यक नीति नियमहरूको तर्जुमा र मौजुदा नीतिनियमको प्रभावकारी कार्यान्वयनको पक्षमा जोड दिनुपर्छ । सामाजिक सुरक्षा भत्ता, पेन्सन, बीमाजस्ता सेवासुविधालाई सहज बनाउनुपर्छ र मुद्रास्फीतिको आधारमा त्यस्ता रकमहरू वृद्धि गर्दै लैजानु पनि पर्छ । यस्ता कार्यमा स्थानीय, प्रदेश र केन्द्र तीनओटै सरकारको उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी रहन्छ ।
ख) जनचेतना विस्तार
अवकाश उमेरका मानिसहरूको जीवनलाई व्यवस्थित गर्न वित्तीय ज्ञान, शीप बढाउनुका साथसाथै राज्यका नीतिगत प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहबाटै जनचेतनामूलक विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । अवकाश उमेरका नागरिकप्रति सन्ततिहरूको दायित्व तथा जिम्मेवारीका बारेमा नयाँ पुस्तालाई सुसूचित गराउनु पनि अति जरुरी छ ।
ग) हेरचाह केन्द्रहरूको स्थापना
विश्वव्यापीरूपमा फैलिएको आप्रवासको समस्याले अवकाश उमेरका मानिसहरूलाई ठूलो नकारात्मक असर पारेको छ । नेपालको सन्दर्भमा देशको कमजोर आर्थिक स्थिति र वैदेशिक रोजगारको बढ्दो लहरले अवकाश पाउने उमेरका मानिसहरू झन् बढी मर्कामा परेका छन् । यस्तो अवस्थामा मानिसको आर्थिक हैसियतका आधारमा उपभोग गर्न पाउने गरी निःशुल्क र सशुल्क दुवै किसिमका ज्येष्ठ नागरिक हेरचाह केन्द्रहरू स्थापना तथा त्यस्ता केन्द्रहरूको उचित व्यवस्थापन गर्ने कुरामा विशेष जोड दिनुपर्छ ।
अहिले मानिसको औसत आयु बढेको छ । आफ्ना आवश्यकताहरू तथा चाहनाहरू पूरा गर्न सन्तानहरू विदेशिने प्रवृत्ति पनि दिनानुदिन बढ्दै छ । जलवायु परिवर्तन, वातावरण प्रदूषण अप्राकृतिक विधिबाट उत्पादन गरिएका खाद्यवस्तुहरू आदि विभिन्न कुराहरूले मानवस्वास्थ्यमा चुनौती थपिरहेको छ र स्वास्थ्य उपचार महँगो बन्दै गएको छ । आवश्यकता तथा चाहनाहरू बढ्दा छन् । यी विविध कारणहरूले गर्दा अवकाशको जीवन झन् झन् असजिलो, बोझिलो बनिरहेको छ । राज्यको मुख ताकेर मात्र यी समस्याहरू समाधान हुने अवस्था पनि छैन । अवकाश जीवनको व्यवस्थापन जस्तो गम्भीर विषयलाई जस्तो पर्ला, त्यस्तै टर्ला भनेर हल्का रूपमा लिँदा भोलि ठूलो पश्चात्तापको भुँमरीमा फस्न सकिने निश्चितप्रायः छ ।
त्यसैले यस विषयमा बेलैमा सोच्नु, विभिन्न उपायहरूको बारेमा जानकारी लिनु र ती उपायहरूको अवलम्बन गर्नु सबैका लागि अति जरुरी भइसकेको छ ।
(लेखक वित्तीय साक्षरता अभियानमा संलग्न व्यक्ति हुन् ।)