काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले लामो समयदेखि रोक्का रहेको शेयर कारोबार फुकुवा गर्ने तयारी गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत किशोर महतोका अनुसार कम्पनीको शेयर कारोबार फुकुवाका लागि नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र शेयर रजिष्ट्रारमा जेठ ३२ गते पत्र पठाइएकाे छ । शेयर कारोबार फुकुवाका लागि पत्र पठाइसकेकाले असारभित्रै कारोबार शुरु हुन सक्ने कम्पनीको अनुमान छ ।
स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर भाँडिएपछि २०७७ असोज ८ गतेयता कम्पनीको शेयर कारोबार रोक्का छ । त्यही दिन कम्पनीको आईपीओ सूचीकृत भएको थियो । कम्पनीले २०७७ भदौ ४ देखि ८ गतेसम्म ८० हजार ७ सय कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो । कम्पनीको शेयर ८ हजार ७० जना सर्वसाधारण शेयरधनीले १० कित्ताको दरले शेयर पाएका थिए ।
तर, त्यसको तीन वर्ष पुग्न लाग्दा पनि शेयर कारोबार शुचारु नभएपछि शेयरधनीले आफ्नो शेयर कहाँ छ भनी प्रश्न गर्न थालेका छन् ।
नेपाल धितोपत्र बोर्डले गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७९ लागू गरेसँगै मर्जर प्रक्रियामा रहेका कम्पनीहरूको शेयर कारोबार खुला भइसकेको छ ।