सरकारले ठूलो परिमाणमा लगानी भित्त्याउन लगानी सम्मेलनको आयोजना गर्यो । लगानीकर्तालाई आश्वस्त पार्न हतारहतार अध्यादेशमार्फत विभिन्न कानून परिवर्तन गर्यो । सबै राजनीतिक दलले सम्मेलनमा लगानी सुनिश्चितता, उदारीकरण, लगानी फिर्ताजस्ता कुरामा समान धारणा व्यक्त गरे, ऐक्यबद्धता पनि जनाए । लगानीकर्तालाई आश्वस्त पार्न जेजति कुरा भन्नुपर्ने हो ती सबै प्रतिबद्धता व्यक्त गरिए । यति हुनु पनि नेपालीका लागि ठूलो कुरा हो । कमसे कम लगानी सम्मेलनमा गएर विदेशी लगानी मुर्दावाद भनेनन्, जलस्रोतमा विदेशी लगानी ल्याउनु भनेको देश बेच्नु हो, पानी बेच्नु हो भनेनन् । सम्मेलनमा देखिएको सकारात्मक पक्ष यत्ति हो । तर, कतिबेला यी दलको दिमागमा सनक चल्छ र फेरि विदेशी लगानीलाई गाली गर्न थाल्ने हुन् भर छैन । यथार्थ के हो भने, कुराले भन्दा कामले ठूलो आवाज निकाल्छ । मान्छेले कुराभन्दा कामको मूल्यांकन गर्छन् । नेपालमा जेजस्तो कार्यपद्धति, मनोवृत्ति र प्रणाली छ त्यसले लगानीकर्तामाझ सकारात्मक सन्देश जाने सम्भावना कमै देखिन्छ ।
सम्मेलनको प्राथमिकता
नेपालको विकासका लागि जलस्रोत सबैभन्दा शक्तिशाली स्रोत मान्न थालिएको त लगानी सम्मेलनमा जलविद्युत्का परियोजना धेरै परेकाबाट नै थाहा हुन्छ । नेपालको सबैभन्दा सम्भावना बोकेको ठूलो स्रोत पानी नै हो भन्ने कुरामा विवाद छैन । तर, पानीलाई जलविद्युत्मा मात्र सीमित गरिनु हुँदैन । यसलाई पर्यटनको दिगो स्रोतका रूपमा पनि लिनुपर्छ । विश्व अर्थतन्त्रमा पर्यटनको ठूलो योगदान छ । कतिपय देशको अर्थतन्त्र नै पर्यटनमा टिकेको छ । नेपालमा पर्यटनको सम्भावना पनि उत्तिकै छ । त्यसो हुँदा पर्यटन र पानीको सम्बन्ध जोड्ने खालका परियोजनामा लगानी आवश्यक हुन्छ । सरकारले प्रस्तुत गरेका परियोजनामा यो कुरा छुटेको देखिन्छ ।
कुराले भन्दा कामले ठूलो आवाज निकाल्छ । मान्छेले कुराभन्दा कामको मूल्यांकन गर्छन् । नेपालमा जेजस्तो कार्यपद्धति, मनोवृत्ति र प्रणाली छ त्यसले लगानीकर्तामाझ सकारात्मक सन्देश जाने सम्भावना कमै देखिन्छ ।
नेपालमा लगानीका एउटा ठूलो क्षेत्र पर्यटन हो । जलविद्युत्मा सानोतिनो लगानीले काम गर्दैन । स्टार्टअपले पनि काम गर्दैन । तर, पर्यटनमा सानोदेखि ठूलोसम्म लगानी गर्न सम्भव छ । शून्य लगानी वा सानो लगानीबाट पनि ठूलो आम्दानी गर्न सकिन्छ । स्टार्टअपबाट पनि पर्यटनमा ठूलो परिवर्तन ल्याउन सकिन्छ । त्यसो हुँदा पर्यटनमा ठूला लगानीका विशेष परियोजना नपरेका हुन सक्छन् । पर्यटनका ठूला परियोजना सरकारले नै बनाउनुपर्छ । त्यसैले दूरगामी महत्त्वको निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण पनि सम्मेलनमा सोकेसमा राखिनु सकारात्मक छ । सडक र हवाई पूर्वाधारमा व्यापक सुधार नल्याई अन्य पूर्वाधारमा गरिएको लगानीले अपेक्षित परिणाम दिँदैन ।
पर्यटक आउने बाटो र आउनासाथ पर्ने प्रभाव यस व्यवसायका लागि निकै महत्त्वपूर्ण हुन्छ । नेपालको विमानस्थल साँघुरो हुँदै गएको मात्र होइन, कतिपय अवस्थामा काठमाडौंको वातावरणले गर्दा विमान उडान अवतरणसमेत प्रभावित हुने गरेको छ । त्यसो हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प खोज्न ढिला भइसकेको छ । त्यस्तै लगानी सम्मेलनमा वायुसेवा क्षेत्रमा लगानीका परियोजना छैनन् । नेपाल वायु सेवा निगममा विदेशी लगानी थपेर त्यसलाई नयाँ मोडलमा सञ्चालन गर्न सकिने गरी परियोजना राख्न सकिन्थ्यो भन्नेमा पनि तयारी हुन नसकेको देखिन्छ, यद्यपि यसका लागि लगानी सम्मेलनभन्दा पनि सरकारको निर्णय बढी महत्त्वपूर्ण हुन्छ । वायुसेवा निगमको सुधार र त्यसको सेवा विस्तार नेपालको पर्यटनका लागि कोशे ढुंगा साबित हुन सक्छ । विमानस्थलमात्रै भएर हुँदैन । पर्यटक बोकेर ल्याउने वायुसेवाले अर्बौं रुपैयाँ विदेश लगेका छन् । त्यसको ठूलो अंश नेपालले पाउनुपर्ने हो । अर्को, नेपालको वायुसेवा जति धेरै देशमा पुग्छ त्यति धेरै पर्यटक नेपाल आउँछन् । त्यसैले चाहे निजी कम्पनी होस् वा सरकारी नेपालको वायुसेवा प्रभावकारी बन्न आवश्यक छ । अन्य देशको पर्यटन व्यवसाय हेर्दा नेपालले वायुसेवा बलियो नबनाउँदा पर्यटनबाट अपेक्षित लाभ लिन नसकेको स्पष्टै देखिन्छ । त्यसैले सम्मेलनको प्राथमिकतामा पर्यटन क्षेत्रले उचित प्राथमिकता पाएको देखिँदैन । यद्यपि यही क्षेत्रमा लगानीका लागि सम्झौताचाहिँ बढी भएको देखिन्छ ।
होटेलमा बढ्दो लगानी
कोभिड महामारीपछि औद्योगिक क्षेत्रमा लगानी सुस्त छ । कतिपय उद्योग व्यापार मन्दीकै कारण बन्द पनि भए । तर, पर्यटन क्षेत्रमा भने नयाँनयाँ लगानी आइरहेको पाइन्छ । स्वदेशी विदेशी लगानीमा देशैभर ठूल्ठूला होटेल खुलिरहेका छन् । महँगा होटेल खुलेका छन् । त्यसले खर्चालु धनाढ्य पर्यटकलाई तान्ने निश्चित छ । सन् २०२३ मा एकै वर्ष करीब १० अर्ब लगानीमा पाँचओटा पाँचतारे होटेल खुले । एक–डेढ वर्षभित्र सञ्चालनमा आउने गरी दर्जनभन्दा बढी थप पाँचतारे निर्माण भइरहेका छन् । निर्माण शुरू भइसकेका र लगानीको घोषणा गरी उपयुक्त वातावरणको पर्खाइमा रहेका साना–ठूला होटेल तथा रिसोर्ट कैयौं छन् ।
सरकार, निजीक्षेत्र सबैको भूमिका र अधिकारबारे सुनिश्चित नगराएसम्म लगानी सम्मेलनको औचित्य सिद्ध हुँदैन । खर्बौंको परियोजनामा केही अर्बको सम्झौता हुनु भनेको असफलता नै हो । यद्यपि लगानीका लागि केही प्रचारबाजीको काम भने यसले गरेको छ ।
अहिले लगानी सम्मेलनमा रारामा सुविधासम्पन्न होटेल निर्माणका लागि सम्झौता भएको छ । यो सकारात्मक छ । तर, राराको सौन्दर्य जोगाइराख्न सकिएन र भोलि फेवातालको जस्तो हालत भयो भने यस्तो लगानीले सकारात्मक परिणाम नदिन सक्छ । राराको सौन्दर्य जोगाउन त्यहाँ भीडभाड बढाउनेभन्दा पनि गुणस्तरीय पर्यटक लैजाने नीति लिँदा यस्तो महँगा होटेल खोल्नुको फाइदा हुन्छ । त्यस्तै अर्को गोरुसिंगेमा महँगो होटेल खोल्न पनि सम्झौता भएको छ । नेपालमा महँगा होटेल बढ्नुको अर्थ खर्चिला पर्यटक भित्त्याउनु हो । लगानी सम्मेलनमा यस्तो सम्झौता हुनु सकारात्मक छ । यसले लगानी ल्याउने मात्र होइन, नयाँ खालको सेवा र प्रविधिलाई समेत भित्त्याउन सक्छ ।
वास्तवमा लगानीका अन्य क्षेत्र खुम्चिँदा पर्यटनमा भने लगानी बढेको छ भन्न सकिन्छ । म्यारियट, हिल्टन, र्याडिसन, हायात, ताज, शिन्तामणि, दुसितजस्ता अन्तरराष्ट्रिय चेनका होटेल नेपाल आइसके । केवलकारसहितको हिल स्टेशन, बन्जी, प्याराग्लाइडिङ, जिपलाइनलगायत साहसिक गतिविधिमा पनि लगानी बढेकै छ । यति हुँदाहुँदै पनि ठूला र पर्यटनमा निकै अन्तर ल्याउने खालका क्षेत्रमा भने लगानी अझै बढाउन आवश्यक छ । नेपालमा थिम पार्क आवश्यक छ । नयाँ साहसिक खेलका क्षेत्रमा लगानी आवश्यक छ । यी क्षेत्रमा परियोजना बन्न नसकेको देखिन्छ । मनोरञ्जनका क्षेत्रमा लगानी आह्वान गरिएको छ र केही सम्झौता पनि भएका छन् ।
पर्यटनमा सम्भावना उपयोग न्यून
नेपालले अहिले जति पर्यटन भित्त्याइरहेको छ त्यो निकै कम छ । कतिपय देशमा जनसंख्याभन्दा दोब्बरतेब्बर बढी पर्यटक आएको देखिन्छ । तर, नेपालमा जनसंख्याको कुरा त टाढा, पर्यटकीय पूर्वाधारकै अनुपातमा पर्यटक संख्या कम छ । अहिले पर्यटन पूर्वाधारमा जेजति लगानी भएको छ त्यो हेर्दा अहिलेको पर्यटक संख्या कम्तीमा पनि दोब्बर हुनु आवश्यक छ । नेपालको प्रचार नभएर पर्यटक नआएका होइनन् । आउने माध्यम अर्थात् हवाई सेवा घुमाउरो र महँगो भएकाले चाहेर पनि उनीहरू आउन नसकेका हुन् । यदि राम्रोसँग योजना बनाएर प्रतिबद्धतासहित काम गर्ने हो भने केही वर्षकै अन्तरालमा कुल गार्हस्थ्य उत्पादनमा १० देखि १५ प्रतिशत योगदान दिन सक्ने गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिन्छ ।
पर्यटनमा विदेशी लगानी
नेपालको पर्यटनको प्रारम्भ नै वास्तवमा विदेशी लगानी र सोचबाट भएको हो भन्दा फरक पर्दैन । सन् १९५० कै दशकमा लाजिम्पाटमा स्नो भ्यु होटेल खुलेको थियो । लगत्तै कान्तिपथको बहादुर भवनमा बोरिस लिसानोभिचले १९५० को दशकको शुरुआततिरै रोयल होटेल खोलेका थिए । उनैले हिमालयन एभियशन स्थापना गरेर कोलकाता आइपुगेका पर्यटकलाई चार्टर्ड प्लेन चढाएर काठमाडौं ल्याउँथे । बोरिसले साझेदारीमा दरबारमार्गमा याक एन्ड यती नामको बार चलाए जुन पछि याक एन्ड यती होटेल बन्यो । त्यस्तै सन् १९६४ मा चितवन राष्ट्रिय निकुञ्जमा टाइगर टप्स खुल्यो । जापानी नागरिक ताकासी मियाहाराले सन् १९७१ मा स्याङबोचेमा होटेल एभरेस्ट भ्यु खोले । उनैले स्थानीयको सहयोगमा सानो पिलाटस पोर्टर अवतरण गर्न सक्ने स्याङबोचे एयरपोर्ट बनाए ।
नेपालमा बन्जी जम्पको शुरुआत गराउने पनि विदेशी नै हुन् । विदेशीले नयाँ सोच पर्यटनमा ल्याए । त्यही सोचलाई नेपालीले पछ्याए । अहिले यस्तो नयाँ पर्यटकीय प्रडक्टका लागि विदेशी लगानी आउन सकेको छैन । यस्तो नयाँ सोचको विदेशी लगानी ल्याउने हो भने पर्यटनमा विविधीकरण थपिन्छ र गुणस्तरीय पर्यटक आगमन हुन्छ । पर्यटनमा ठूलो विदेशी लगानी नआउँदाको परिणति पर्यटक तानातानको अवस्था आएको हो, पर्यटनमा अस्वस्थ प्रतिस्पर्धा बढेको हो जसको नोक्सान नेपाली व्यवसायीलाई भएको छ र फाइदा पर्यटकलाई ।
लगानी सम्मेलनमा छुटेका विषय
सरकारले यही १६ र १७ मा लगानी सम्मेलन आयोजना गर्यो । लगानी सम्मेलनले अर्थतन्त्रमा केही न केही पक्कै पनि फाइदा पुर्याउला भन्ने अपेक्षा गरौं । लगानी प्रतिबद्धताको दाँजोमा निकै न्यून लगानी आए पनि झन्डै ३५ प्रतिशत लगानी त आएकै हो । अहिलेको लगानी सम्मेलनमा आशावादी हुन सकिँदैन । तैपनि नेपालमा लगानी गर्न सकिन्छ भन्ने सन्देश ठूला लगानीकर्तामाझ पुर्याउन भने सम्मेलन सफल भएको मान्न सकिन्छ । यो सम्मेलनमा पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा दिइनुपर्ने थियो तर त्यसो हुन सकेन ।
वायुुसेवालगायत कतिपय ठाउँमा विदेशी साझेदार कम्पनी नै भित्त्याउनुपर्ने अवस्था छ । भैरहवामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटक ओइरिने अनुमान लगाउँदै निजीक्षेत्रले होटेलमा ठूलो लगानी गर्यो । तर, लगानीकर्ताले सोचेअनुरूप भएन । पोखरा अन्तरराष्ट्रिय विमानस्थलको पनि हालत उस्तै छ । त्यसैले यिनको सञ्चालनका लागि वित्तीय रूपमा सक्षम र अन्तरराष्ट्रिय पहुँच राम्रो भएको विदेशी कम्पनीलाई जिम्मा दिनु उपयुक्त हुन्छ । यस्तो परियोजना सम्मेलनमा आउन सकेन ।
नेपालमा ठूला कार्गो विमान र विमान उडान अवतरण गर्ने विमानस्थल छैन । अहिले भएका तीनओटै विमानस्थलमा यी विमान अवतरण गर्न सक्दैनन् । त्यसैले निजगढमा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको थालनी गर्नु जरुरी छ । काठमाडौं–तराई द्रुतमार्ग, चोभारको सुक्खा बन्दरगाह प्रस्तावित निजगढ एयरपोर्टलाई आधार बनाएरै निर्माण शुरू गरिएका हुन् । त्यसैले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता खोज्नुपर्छ ।
विगतमा नेपाल वायुसेवा निगमको सीधा उडान यूरोपका प्रमुख शहरमा हुन्थ्यो । त्यति बेला यी देशमा नेपाली खासै पुग्दैनथे । अहिले नेपालीको बाक्लो उपस्थिति भए पनि स्वदेशी वायुसेवा यी देशमा छैनन् । त्यतिबेला नेपाल घुम्न आएका यूरोपेलीहरूले अझै नेपाललाई पवित्र देश भनेर चिनाइरहेका छन् । तर, त्यहाँबाट पर्यटक भने ज्यादै कम आएका छन्् । पर्यटन उद्योगको व्यापार बढाउन विश्वका थप शहरहरूमा सेवा विस्तार गर्नुपर्नेमा भएकै ठाउँमा समेत उडान छैन । लामो दूरीमा उडान गर्न भनेर ल्याइएका वाइडबडी जहाजले अपेक्षित मात्रामा उडान भर्न सकेका छैनन् । निगमको उडान पनि नियमित छैन । विगतको शाख उसले जोगाउन नसक्दा नेपालमा हवाई यात्रुको संख्या निकै बढे पनि पैसा जति विदेशी कम्पनीले लगेको अवस्था छ । लगानी सम्मेलनमा नेपालमै अन्तरराष्ट्रिय सेवा दिने नयाँ वायु सेवा कम्पनी खोल्न, भएका वायुसेवा कम्पनीमा लगानी थप्न वा रणनीतिक साझेदार ल्याउन केही प्रस्ताव गरिएको भए राम्रो हुन्थ्यो । तर, यसो हुन सकेन । रणनीतिक साझेदार भित्त्याउने कुरामा सरकार र निगमको प्रशासनले त्यति चासो दिइरहेको छैन । खासमा निगममा निजी लगानी प्रवेश नगराई सुधार आउन सक्ने देखिँदैन ।
पर्यटन विविधीकरणमा लगानी
नेपालको पर्यटन हिमालमै केन्द्रित छ । हिमाली क्षेत्रमा हुने विभिन्न पर्यटकीय गतिविधि हुन सकेका छैनन् जुन अन्य देशमा भइरहेका छन् । त्यसमा नयाँ सोचको ठूलो लगानी आवश्यक छ । नेपालमा हिल स्टेशनको सम्भावना निकै छ । स्की, डिज्नी ल्यान्ड, वाटर स्पोर्टस्, हवाई खेलकुद, रारा, फोक्सुन्डो, डोल्पोजस्ता क्षेत्रहरूमा पर्यटकीय गतिविधि बढाउन ठूलो लगानी आवश्यक हुन्छ । लगानी सम्मेलनमा यसका लागि परियोजना परेनन् । परियोजना बनाउन पनि यस क्षेत्रका विज्ञ हुनुपर्छ । सम्बद्ध मन्त्रालयले परियोजनाको प्रस्ताव बनाएर लगानी बोर्डमा पठाउनुपर्छ । तर, पर्यटन मन्त्रालयमा यस्तो सोच भएको नेतृत्व नै आउन सकेन भन्दा हुन्छ । त्यही भएर पर्यटनका परियोजना कम भएका देखिएका हुन सक्छन् । नेपालको सुदूरपश्चिम पर्यटनका लागि नयाँ क्षेत्र हो । त्यहाँ ठूलो लगानी आवश्यक देखिन्छ । सम्मेलनमा यसका लागि परियोजना सोकेसमा राखे पनि लगानीकर्ताले चासो दिएको देखिएन ।
तयारी अपुगको परिणति
सम्मेलनमा पर्यटनमा परियोजना नपरेको मात्र होइन, परेका परियोजनाबारे पनि पर्याप्त जानकारी दिन सकेको देखिँदैन । अर्को, यति लामो समयदेखि तयारी गरे पनि कानून संशोधनजस्तो विषय पनि अध्यादेशबाट गरेर लगानीकर्तामाझ केके न गर्यौं भन्नु कमजोरी नै हो । सत्तापक्ष, प्रतिपक्ष, व्यवसायी सबै मिलेर लगानीको अवसर राम्रो छ भनेर एउटै स्वरमा भन्नु झट्ट हेर्दा राम्रो लाग्छ तर राजनीतिज्ञका कुरामा कसले विश्वास गर्छ र ? सबै दल मिलेर अब आर्थिक परिवर्तनका लागि काम गर्छौं भनेर प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेकै हुन् । अहिले राजनीतिक दलले त्यो प्रतिबद्धता सम्झेका समेत छैनन् । त्यसैले साँचिकै लगानी ल्याउने हो भने यस्तो हतारो र हचुवाको सम्मेलन गरेर पुग्दैन । वास्तवमा भन्ने हो भने सम्मेलन कर्मकाण्डी पाराको रहेको छ । विगतकै परियोजनाहरू राखिएका छन् । सम्झौता भएका कतिपय परियोजना सम्मेलनमा प्रस्तुत गरिएका सम्झौता होइनन् । यस्तो झारा टार्ने प्रवृत्तिको सम्मेलन गर्ने अनि सफल भयो भन्दै दंग पर्ने प्रवृत्तिले लगानी आउँदैन ।
नेपालका सबै राष्ट्रिय राजमार्गको अवस्था बिजोग छ । न सडक यातायात सुरक्षित र भरपर्दो छ न वायुसेवा नै सस्तो र आरामदायी छ । सडक बिग्रिएको मौका हेरेर जथाभावी हवाई भाडा तय गरिएको छ । त्यो पनि समयमा उडान भयो भने अचम्म मान्नुपर्ने अवस्था छ । मुलुकमा पर्यटक भित्त्याउन मात्र होइन, आन्तरिक रूपमा एक ठाउँबाट अर्को ठाउँमा जान पनि निकै ठूलो समस्या छ । यस्तोमा यातायात पूर्वाधारमा थप लगानी आवश्यक छ । लगानी सम्मेलनमा सरकारले केकेमा लगानी गर्छ, कति वर्षमा त्यो काम सक्छ भनेर भन्नुपथ्र्यो । सरकार, निजीक्षेत्र सबैको भूमिका र अधिकारबारे सुनिश्चित नगराएसम्म यस्तो सम्मेलनको औचित्य सिद्ध हुँदैन । खर्बौंको परियोजनामा केही अर्बको सम्झौता हुनु भनेको असफलता नै हो । यद्यपि लगानीका लागि केही प्रचारबाजीको काम भने यसले गरेको छ ।
लेखक पर्यटन व्यवसायी हुन् ।