काठमाडौं । लगातार चार कारोबार दिन बढेपछि मंगलवार (आज) नेप्सेमा सामान्य अंक करेक्सन भएको छ । यस दिन नेप्से परिसूचक ८ दशमलव १८ अंक घटेर २ हजार ९२३ दशमलव ४६ विन्दुमा कायम भएको हो । चार कारोबार दिनमा नेप्से २८० अंक बढेको थियो । बढेको बजारमा कारोबारीले प्रोफिट बुक गरेसँगै आज बजार सामान्य अंक घटेको हो ।
बढेको बजारमा बेलाबेला सामान्य करेक्सन आउनुलाई स्वभाविक र सामान्य मानिने जानकार बताउँछन् । करेक्सनबाटै बजार झनै बलियो हुने उनीहरूको भनाइ छ ।
पछिल्लो डेढ महीनामा नेप्सेमा उल्लेख्य वृद्धि भएको छ । नयाँ सरकार गठन भएसँगै नेप्से बढेको हो । सरकारले पूँजीबजार सुधारप्रति प्रतिबद्धता जनाएपछि लगानीकर्तामा मनोबल झनै उच्च बनेको हो । त्यसपछि चालू आर्थिक वर्ष (आव)को मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्ताका कर्जामा २० करोड सीमा हटाएको छ । यस कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता बताउँछन् ।
सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २५ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव २१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३४ प्रतिशत घटेको छ । मंगलवार ३३२ धितोपत्रको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर २ लाख ४१ हजार ६६५ पटकमा रू. २१ अर्ब ५१ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । मातृभूमि लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर र दोल्ती पावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो ।
आज नेपाल फाइनान्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ९३ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार १७८ मा झरेको छ । त्यस्तै सगरमाथा जलविद्युत कम्पनीको शेयर मूल्य ७ दशमलव ११ प्रतिशत घटेर रू. ७०६ कायम भएको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. ८१ करोड ९९ लाख बराबरको कारोबार भएको हो । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा हिमालयन रिइन्स्योरेन्स छ । कम्पनीको रू. ६८ करोड २१ लाख बराबरको भएको छ ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये पाँच समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी १ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ भने होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी २ दशमलव २५ प्रतिशत घटेको छ ।