काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार (आज) नेप्से परिसूचक २५ दशमलव ४६ अंक घटेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ७०१ दशमलव ९० विन्दुमा झरेको हो । आजसँगै नेप्से लगातार तीन कारोबार दिन घटेको छ । तीन दिनमा नेप्से १२८ दशमलव २९ अंक घटेको हो ।
आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन रू. ९ अर्ब ६५ करोड बराबरको कारोबार भएकोमा आज रू. १० अर्ब १२ करोडभन्दा बढीको भएको छ ।
दुई महीनाअघि नयाँ सरकार गठन भएयता बढ्न थालेको बजार गत साउन ३१ गते ३ हजार विन्दुमा बन्द भएको थियो । त्यसयता तीन सातामा बजार करीब ३०० विन्दुले घटिसकेको छ ।
जानकारहरू यसलाई बजार करेक्सनको रूपमा लिन्छन् । करेक्सनको चक्र पूरा भएपछि नेप्सेले पुनः गति लिन सक्ने उनीहरूको भनाइ छ ।
आज सेन्सेटिभ इन्डेक्स १ दशमलव ३६ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव ०६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव ४१ प्रतिशत घटेको छ ।
३२८ धितोपत्रको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर १ लाख १२ हजार ३ सय पटकमा रू. १० अर्ब १२ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्र मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
महुली लघुवित्त वित्तीय संस्था, श्रृजनशिल लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो, जसमा महुली लघुवित्तको शेयर मूल्य रू. १ हजार ६३९, श्रृजनशिल लघुवित्तको रू. २ हजार १७८ र मिड सोलुको रू. १ हजार ५ दशलमव ४० पुगेको छ ।
आइतवार थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १२ दशमलव ५० मा झरेको छ । त्यस्तै कुमारी इक्वीटी फण्डको इकाई मूल्य ८ दशमलव ०७ प्रतिशत घटेर रू. ९ मा झरेको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ४२ करोड १५ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ९६३ कायम भएको छ । त्यस्तै शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी छ । कम्पनीको रू. ३५ करोड ८१ लाख बराबरको संस्थापक शेयरको कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये तीन समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । तीमध्ये लघुवित्त समूहको सूचक सबैभन्दा बढी १ दशलमव २१ प्रतिशत वृद्धि भएको छ भने विकास बैंक समूहको सूचक सबैभन्दा बढी २ दशमलव ०७ प्रतिशत घटेको छ ।