काठमाडौं। लिट्मस इन्डस्ट्रिज लिमिटेडको ‘लिट्मस २.०’ ले एल्युमिनियम रड उत्पादन उद्योगको शुरुआत गरेको छ । एल्युमिनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्दै त्यसको उत्पादनमा आत्मनिर्भर बन्ने उद्देश्यसहित नवलपरासीको रामग्राम हकुइमा अत्याधुनिक उद्योग स्थापना गरेको बताइएको छ । यस महत्त्वपूर्ण उपलब्धिलाई स्मरणीय बनाउन बुधवार ‘फर्नान्स फ्लेमिङ सेरेमनी’को आयोजना गरिएको थियो ।
हाल नेपालमा तार, केबल र कन्डक्टर निर्माणमा प्रयोग हुने एल्युमिनियम रड आयातमार्फत पूर्ति हुँदै आएको छ । प्लान्टको सञ्चालनले एल्युमिनियम रडको आयात परनिर्भरतालाई उल्लेख्य घटाउनुका साथै देशभित्रै उच्च गुणस्तरको एल्युमिनियम रडको नियमित आपूर्ति प्रत्याभूत गर्ने अपेक्षा गरिएको छ । आर्थिक पक्षसँगै, यस परियोजनाले उत्पादन, ढुवानी र विक्री लगायतका क्षेत्रमा सयौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सृजना गर्ने बताइएको छ । नेपालको पहिलो एल्युमिनियम रड उत्पादन कम्पनी बनेको दाबी गर्दै लिट्मसले देशको समग्र उत्पादन क्षेत्रकै लागि एउटा ठूलो कोसेढुङ्गा र रणनीतिक फड्को भएको बताएको छ । यस परियोजनाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै देशमा आन्तरिक र बाह्य लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ ।