काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आइतवार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले भदौ १० देखि १३ गतेसम्म सर्वसाधारणको लागि १२ लाख ५ हजार ३२० कित्ता शेयर प्रिमियम मूल्यमा निष्कासन गरेको थियो । कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ मा आईपीओ निष्कासन गरेको हो । सो आईपीओमा कुल १० लाख १६ हजार ७१४ आवेदन परेको थियो ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार कुल १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।