तीन वर्षदेखि मौद्रिक विस्तारप्रति अनुदार रहेका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति भने निकै उदार बनाए । खासगरी बैंकिङ क्षेत्रलाई विभिन्न सुविधा दिएर तिनको खराब कर्जा, पूँजी कोषमा परेको दबाबलाई सजिलो बनाउने गरी मौद्रिक नीति ल्याइएपछि आइतवार शेयरबजार दुईपटक सर्किट ब्रेक लाग्यो र २६८१ दशमलव ५६ को उचाइमा पुग्यो । यसले मौद्रिक नीतिबाट शेयरबजारलाई गतिशील बनाउने र त्यसका माध्यमबाट सरकारी आम्दानी बढाउनुका साथै बजारमा माग बढाएर अर्थतन्त्र उचाल्ने रणनीतिमा सरकार र केन्द्रीय बैंक गएको हो कि भन्ने देखिन्छ ।
गभर्नर अधिकारीले अघिल्ला सरकारका अर्थमन्त्रीले मौद्रिक विस्तार गर्न जति नै आग्रह गरे पनि सुनेका थिएनन् । कर्जा प्रवाहको अनुपातमा आर्थिक वृद्धिदर बढेको नदेखिएपछि राष्ट्र बैंकले निजीक्षेत्र र सरकारको आग्रहलाई बेवास्ता गर्दै कर्जा विस्तारलाई रोक्नेतर्फ नै लाग्यो । तर, अहिले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेपछि भने सरकारको चाहेअनुसार खुला गरिदिए । खुला गरिदिनु आवश्यक नै भइसकेको थियो तर आवश्यकभन्दा बढी खुला गर्दा घरजग्गा र शेयरबजारमात्रै बढ्ने तर उत्पादनचाहिँ नबढ्ने अवस्था फेरि नआउला भन्न सकिँदैन । अन्तरराष्ट्रिय मुद्राकोषले कोरानाकालपछि गरिएको खुलापनले मागभन्दा कर्जाको आपूर्ति बढेको जसले अनुत्पादक क्षेत्रमा कर्जा गई अर्थतन्त्रलाई मद्दत नपुगेको बताएको छ ।
मौद्रिक नीतिले बैंकहरूलाई परेका अप्ठ्याराहरू खुकुलो बनाएर उसको आम्दानी बढ्ने र खराब कर्जा व्यवस्थापन गर्न केही सजिलो बनाइदिएकाले आइतवार बैंकहरूको शेयरबजार उच्च अंकले बढ्यो । नेपाल राष्ट्र बैंकले शेयरबजारलाई हेरेर नीति बनाउने होइन न त शेयरबजारलाई उचाल्न नै केही नीति बनाउने हो । अहिले पनि उसले शेयरबजारलाई हेरेर खुकुलो नीति लिएको होइन । तर, उसका नीतिका कारण बैंकहरूको मुनाफा बढ्ने र बैंकहरूमा वासलात राम्रो पाउने आशा बढेपछि लगानीकर्ता यस्ता बैंकको शेयर किन्न झुम्मिएका हुन् । शेयरबजार भनेको सट्टेबाजी नै बढी हुने ठाउँ हो । यद्यपि यसमा विशुद्ध लगानी गर्ने व्यक्तिहरू पनि प्रशस्त छन् । राष्ट्र बैंकको उदारतालाई लिएर अहिले शेयरबजार उचालिएको छ । शेयरबजार लगानीकर्ताको मनोविज्ञानले उचालिने र पछारिने गर्छ । तिनमा सानातिना राजनीतिक घटना र आर्थिक कुराले पनि प्रभाव पार्छ । अहिले अर्थतन्त्रमा तात्त्िवक अन्तर केही पनि आएको छैन ।
यस्तो बढ्दो बजारमा नयाँ लगानीकर्ता फस्न सक्छन् । नबुझी लगानी गर्दा उनीहरू फस्ने भएकाले लहैलहैमा लगानी गर्नेहरू बढी जोखिममा पर्छन् । हुन त शेयरबजार भनेकै जोखिमको बजार हो । त्यसो हुँदा त्यो जोखिम लिने व्यक्ति आफै सचेत हुनुपर्छ । त्यसमा सरकारको टाउको दुखाइ हुनु हुँदैन भन्ने मत पनि बलियो पाइन्छ । यो मत धेरै मात्रामा सही पनि हो ।
तर, बजारमा हुने अनावश्यक चलखेल रोक्न भने नियामक निकाय सतर्क हुनुपर्छ । बढ्दो बजारमा कर्नरिङ हुने, भित्री कारोबार हुनेलगायत गैरकानूनी काम हुन सक्छन् । त्यस्तै प्रविधिको प्रयोग गरेर बजार मूल्यमा चलखेल हुन सक्छ । अहिले केही व्यक्ति वा समूहले यो यो शेयर किन्नु, यो चाहिँ बेच्नु भनी समूह बनाएर त्यसअनुसार बजारलाई असर पार्न खोजेको देखिन्छ । नियामक निकायले यस्तो बेलामा विशेष सतर्क भएर बजारको विश्लेषण गर्नु जरुरी हुन्छ ।
बजार घट्ने र बढ्ने चिन्ता होइन, बजारमा गलत अभ्यास हाबी नहोस् भन्नेमा नियामकको ध्यान जानुपर्छ । अर्को, जब बजारले अलिक गति लिन थाल्छ, नेप्सेको वेबसाइटमा समस्या आइहाल्छ । आइतवार पनि ट्रेड म्यानेजमेन्ट सिस्टममा एकछिन समस्या आयो । टीएमएस नचलेको समयमा भएको उतारचढावले लगानीकर्तालाई अन्योलमात्र होइन, कसैकसैलाई मर्का नै पार्यो । यी सबै पक्षलाई ध्यान दिएर बजारलाई स्वच्छ तरीकाले चल्न दिने वातावरण बनाउनु नियामक निकायको काम हो । त्यसमा नियामकको ध्यान जानैपर्छ ।