जनताहरू सरकारले कामै गरिरा छैन भन्छन् । तर, सरकारले त ड्यांगै एकैचोटीमा आठ आठ देशका लागि, त्यो पनि सत्तारूढ दल सबैलाई भागशान्ति लगाएर राजदूतहरू सिफारिश गर्यो त ! यस्तो छलाङ मार्ने काम गर्दा नि सरकारलाई जश नदिने ? अस्ति भर्खर त प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गरेका थिए, बजेट पास गराएका थिए, संसद्मै हाजीर भएर भाषण(शासन पनि गर्या थे । निद्राबाट ब्यूँझेसरी बल्ल पो काम शुरू गर्न पाको छ सरकारले । यति धेरै काम गरेको नदेख्नु भनेको त अर्काको आङको भैंसी नदेख्नु त हो नि !
सम्बन्धित देशहरूले सिफारिश गरिएका राजदूतहरूको एग्रिमो पठाएपछि वा स्वीकृति दिएपछि नवराजा सरी नवराजदूतहरू उता पुग्नुहुनेछ । अनि शुरू हुनेछ उहाँहरूको मुख्य काम । उहाँ पुगेपछि पनि त्यस देशका राष्ट्र प्रमुखलाई ओहोदाको प्रमाणपत्र बुझाउनुपर्यो । यसो मायाको चिनोसिनो लिएर गएको छ भने त्यो पनि हस्तान्तरण गर्नुपर्यो । फोटो खिचाउनुपर्यो, छपाउनुपर्यो । अनि आफन्तको बधाई खानुपर्यो, अनि सिफारिस गर्नेलाई भोजसोज खुवाउनु पर्यो । यताबाट यत्रो चुरीफुरी गरेर त्यहाँ पुग्यो, तर विदेशी सरकारको ढोकामा पुग्नासाथ हाम्रो सारा राष्ट्रिय स्वाभिमान एकाएक पग्लिन थाल्छ । सगरमाथा, सीता र बुद्ध जन्मेको महान् देशको राजदूत एउटा भिखारीको मुद्रामा एउटा कुनामा गएर आफ्नो स्थान खोज्न थाल्छ ।
देश त धनी छ । तर के गर्नु, हामी गरीब छौं । मागेरै काम चलाउनुपरेको छ । भीख माग्नलाई हामी कुन कुन ढोकाहरू ढकढक्याउन गएका छैनौं र ? सहायताका लागि प्यासी हामी कुन कुन आइएनजीओ र विदेशी दूतावाशहरूका गेटमा निवेदन थमाउन पुगेका छैनौं र ? तर के गर्नु ? राजदूत पदका पछाडि थुप्रै दायित्वहरू पनि सँगै आउने रहेछन् ।
विदेशस्थित हाम्रा दूतावास एक प्रकारले भाइचाराका अड्डा पनि त हुन् । त्यहाँ स्वागत, सत्कारको परम्परालाई बचाइराख्नुपर्ने हुन्छ । स्वदेशबाट पाल्नुहुने महान् नेताहरूलाई खुवाउने, पियाउने, घुमाउने, कहाँ कताबाट सकिन्छ त्यहाँबाट निमन्त्रणा मगाउने, आफ्ना वा आफन्तका ज्ञानी बालकहरूलाई कहाँबाट कसरी हुन्छ, स्कलरशिप मिलाउने, आफन्तलाई घुमघामका लागि झिकाउने लगायतका कर्तव्य पनि पूरा गर्नुपर्ने हुन्छ । के के नाममा मान्छे लिएर उतै धसाउने काम पनि गर्नुपर्ने हुन्छ । महामहिम हुँदा चढाएको दाम उठाउने काम पनि गर्नैपर्यो । यसै पनि अतिथि त देव नै हुन्छन् । देव भएपछि धेरैका रहर पनि पूरा गरिदिनै पर्यो । विदेशी मदिराहरू( ह्विस्की, श्याम्पेन, विदेशी चुरोटहरू जोहो गरेर पनि स्टक पनि राख्नैपर्यो ।
हामी त्यो देशका बासिन्दा हौं, जुन देशबाट सयौं नदी र खोला दक्षिणतिर बहन्छन् । तर हामी त्यसबाट हाम्रा बाँझो जमीन सिँचाइ गरेर केही फलाउनु फुलाउनु भन्दा विदेशीसँग चामल, नून, तेल र अब त पैसा पनि माग्न सजिलो लाग्छ । अर्थात् हामीलाई दिनुहोस्, केवल दिइरहनुहोस् भन्नेमा पुगेका छौं । हाम्रो राष्ट्रिय र सामाजिक जीवनमा शायद दूतावाशहरूको यही एउटा उपयोगिता बाँकी छ ।
हाम्रा महामहिमहरूको टिओआरमा आर्थिक कूटनीति पनि हुन्छ रे । त्यसमा त उहाँहरू माहिर हुनैपर्यो । महामहिम हुँदा चढाएको भेटीको शोधभर्ना लिन आर्थिक कूटनीति चलाउनै पर्यो । त्यसैले महामहिमहरूले म्यानपावर कम्पनीको काम पनि गर्नुपर्ने हुन्छ । आफ्नो र अन्नदाताको पेट भर्नुपर्ने हुन्छ । त्यसैले यो निकासी बढाउने वा लगानी भित्त्याउने जस्ता झिना मसिना कुरामा अल्झिने फुर्सद उहाँहरूलाई हुँदैन ।
हामी त्यो देशका बासिन्दा हौं, जुन देशबाट सयौं नदी र खोला दक्षिणतिर बहन्छन् । तर हामी त्यसबाट हाम्रा बाँझो जमीन सिँचाइ गरेर केही फलाउनु फुलाउनु भन्दा विदेशीसँग चामल, नून, तेल र अब त पैसा पनि माग्न सजिलो लाग्छ । अर्थात् हामीलाई दिनुहोस्, केवल दिइरहनुहोस् भन्नेमा पुगेका छौं । हाम्रो राष्ट्रिय र सामाजिक जीवनमा शायद दूतावाशहरूको यही एउटा उपयोगिता बाँकी छ ।
सुख र समृद्धिको शिखर चुम्ने आकांक्षा भएका हरेक नेपालीलाई यो लाग्छ कि यदि जीवन र जगत्मा सुख छ त केवल टाढा समुद्रपारिको देशमा छ । यता त छँदै छैन । अनि विदेशी दूतावासमा सके जागीरे जीवन, नसके सेवानिवृत्त भएपछि पनि त्यहाँ गएर भोगविलासी जीवन बिताउन नेताहरूका दरबारको चक्कर काट्ने हाम्रो एउटा आम प्रवृत्ति बनेको छ । सके उत्पादन तथा सेवा, नसके साहित्य, संस्कृति, ज्ञान, मैत्री आदानप्रदान, आदि जस्ता कुराहरू केवल कोरा सिद्धान्तमा सीमित भएका छन् । विदेश प्रवेशको धेरैको मतलब मद, मदिरा, मसाज, मस्ती भएको छ ।
समग्र समाजको सोच यस्तो देखिन्छ कि हाम्रो जीवन तब सार्थक हुन्छ, जब परिवारको कुनै सदस्य कुनै विदेशी मुलुकमा कुनै पनि प्रकारले पुगेको छ । तर ऊ लुकेको छ वा झुकेको छ, फैलिएको छ वा थलिएको छ भन्ने कुरासँग खासै मतलब छैन । झन् राजदूत नै हुन पाएपछि त के चाहियो र ? त्यसैले त होला मुख्यसचिव, मन्त्री भइसकेका मान्छे पनि राजदूत बन्नका लागि जीवनभरिको आदर्शलाई बागमतीमा विसर्जन गरेर लाग्ने गरेका ।
पुग्ने कहाँ हो थाहा छैन, तर सबैलाई विदेशै जानु छ । कुनै चक्कर चलाउनोस्, कुनै बहाना बनाउनोस्, कहीँबाट पनि मौका खोज्नोस् । तर विदेश जाने कुनै न कुनै बाटो चैं रोज्नोस् । यही नै अहिलेको सफल जीवनको हाम्रो परिभाषा हो ।
के कर्मचारी, के डाक्टर, के पत्रकार वा चित्रकार, के कुनै खेलाडी वा कलाकार, प्रोफेसर वा फिल्म प्रड्युसर, सबै सबै विदेश जाने दौड प्रतियोगितामै देखिन्छन् । अर्को डेलिगेसनमा आफ्नो नाम सूचीमा पार्ने कोशिसमा । डलर गनेर, पदमा रहेका वा चिनजानकालाई भनेर, फर्केर देशको सेवा गर्ने कसम खाएर, विदेशी दूतावास धाएर । सबै समस्याहरूको एउटै र अन्तिम समाधान, विदेशको धर्ती । मध्यमवर्गीय मखमली इच्छा, आकांक्षाहरूको अन्तरराष्ट्रियकरण ।
जब विमानस्थलको बिजुली भर्याङमा विदेश लाग्नेहरूका पाइला जहाजतर्फ लम्किन्छन्, उनीहरूको हाल, चाल, ढाल हेर्नलायक हुन्छ । छाती गर्वले फुलेको, जीवनले अर्थ समातेजस्तो, सार्थकता पाएजस्तो ।
म हेरिरहेको छु, प्रत्येक विदेशिनेलाई ऊ कसरी गयो, उसको एउटा कथा छ र हरेकको कथा फरक छ । ऊ त गैरहेको छ । तर म देखिरहेको छु, देश त विदेश पो गइरहेको छ, बसाइँ सरिरहेको छ, एउटा सिंगै पुस्ता, एउटा सिँगै देश । अब ऊ कहिले फर्कन्छ ? के ऊ फर्कन्छ र ? के हाम्रा महामहिमहरूलाई यो कुराको हेक्का रहन्छ होला र ?