काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार चैत २६ गते मंगलवारदेखि सुरु भएको छ । चैत २१ गते बिहीवार धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको कम्नपीको शेयर चैत २५ गतेदेखि कारोबार योग्य भएपनि स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार हुन नसक्दा सोमवार नियमित सेसनमा कारोबार हुन सकेको थिएन । मंगलवार भने कम्पनीको स्पेशल प्रि ओपनिङ सेसनमा प्रतिकित्ता ३०२ रुपैयाँ ३० पैसामा कारोबार भएको थियो । सोही मूल्यमा नियमित सेसनमा कारोबार खुला भएको कम्पनीको शेयरमूल्य सर्किट लेभल अर्थात ९ दशमलव ९९ प्रतिशत बढेको छ ।
प्रतिकित्ता ३० रुपैयाँ २० पैसाले बढेर कम्पनीको अन्तिम मूल्य प्रतिकित्ता ३३२ रुपैयाँ ५० पैसा कायम भएको हो । पहिलो कारोबार दिन यस कम्पनीको ६८ हजार ६२४ रुपैयाँ बराबरको २१० कित्ता शेयर कारोबार भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ ८० पैसादेखि अधिकतम ३०२ रुपैयाँ ४० पैसासम्मको मूल्य रेञ्ज तोकेको थियो । कम्पनीको पहिलो शेयर कारोबार नेप्सेले तोकेको अधिकबतम मूल्यमै भएको हो । गत फागुन २३ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले करिब एक महिनामा शेयर कारोबार गराएको हो ।
कम्पनीको कुल ७५ लाख कित्ता शेयर एनएमआईसी सिम्बोलबाट सूचीकृत छ । संस्थापक तर्फको ५२ लाख ५० हजार कित्ता र सर्वसाधारण तर्फको २२ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीको यी शेयरमध्ये संस्थापक र सर्वसाधारणतर्फको कर्मचारी र सामूहिक लगानीकोष बाहेकका शेयर कारोबारमा आएको हो । संस्थापक र कर्मचारीहरूले सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिले तीन वर्षसम्म शेयर कारोबार गर्न नपाउने व्यवस्था छ भने सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर ६ महिनासम्म लइकनमा रहनेछ । लघु निर्जीवन बीमा व्यवसायी कम्पनीको रुपमा यो कम्पनी २०८० साल बैशाख २६ गतेदेखि सञ्चालनमा रहेको छ ।