काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले माघ १२ गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । पुस १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
आगामी चार वर्ष अवधिको लागि एक जना महिनासहित संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट तीन जना गरी कुल पाँच जना निर्वाचन गर्ने कार्यक्रमसमेत सभाका लागि तय गरिएको छ ।
यस वर्ष कम्पनीले लाभांश भने वितरण नगर्ने भएको छ । गत वर्ष भने कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २९ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।