काठमाडौं । नेपालको धितोपत्र दोस्रो बजारमा हाल २४४ कम्पनीहरू सूचीकृत छन् । सूचीकृत कम्पनीमध्ये सर्वाधिक पूँजीकरण भने नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को रहेको छ ।
हाल यस कम्पनीको दोस्रो बजारमा १८ करोड कित्ता शेयर सूचीकृत रहेको छ । सर्वाधिक पूँजीकरण रहेको यस कम्पनीको मंसिर मसान्तसम्मको तुलनामा पूँजीकरण ११ अर्ब १६ करोड रुपैयाँभन्दा बढीले घटेको छ । कम्पनीको शेयर मूल्य घटेसँगै पूँजीकरण घटेको हो । मंसिर मसान्तसम्म कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९५० रुपैयाँ थियो । पुस मसान्तसम्म कम्पनीको अन्तिम शेयर मूल्य प्रतिकित्ता ८८८ रुपैयाँ कायम हो ।
पुसमा समग्र धितोपत्र दोस्रो बजार घटेसँगै कम्पनीको शेयर मूल्यमा समेत असर परेको हो । मंसिर मसान्तसम्म २ हजार ६८२ दशमलव २९ विन्दुमा रहेको नेप्से पुस मसान्तसम्म आइपुग्दा २ हजार ५९४ दशमलव १३ विन्दुमा झरेको छ ।
अन्य समूहअन्तर्गत कारोबार भइरहेको यस कम्पनीको पुस मसान्तसम्म कुल बजार पूँजीकरण १ खर्ब ५९ अर्ब ८ करोड रुपैयाँभन्दा बढी कायम छ । यो रकम मंसिर मसान्तसम्म १ खर्ब ७१ अर्ब रुपैयाँ कायम थियो ।
सूचीकृत कम्पनीहरूमध्ये धेरै कम्पनीहरूले यस वर्ष लाभांश वितरण नगर्ने घोषणा गरेको अवस्थामा यस कम्पनीले भने लाभांश वितरणलाई निरन्तरता दिएको अवस्था छ ।
यस वर्ष गत वर्षको मुनाफाबाट कम्पनीले ३० प्रतिशत करसमेत नगद लाभांश वितरण गरिसकेको छ । कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा सम्पन्न गरी पुस २९ गतेनै नगद लाभांश वितरण गरेको हो ।
गत वर्ष भने कम्पनीले करसमेत ४० प्रतिशत नगद लाभांश दिएको थियो । लाभांश वितरणको हालसम्मको अवस्थालाई हेर्दा कम्पनीले नगद लाभांशलाई बढी प्राथमिकता दिएको देखिन्छ ।
कम्पनीले हालसम्म एक पटक मात्र बोनस शेयर वितरण गरेको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस शेयर र कर समेत २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले अधिकतम ५५ प्रतिशतसम्म लाभांश वितरण गरेको देखिन्छ ।