काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको कुल ३० प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको शुक्रवार सम्पन्न ३१ औं वार्षिक साधारणसभाले प्रस्तावित २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई स्वीकृत गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी रु. ३ करोड ८७ लाख ५८ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा ५ प्रतिशत कम लाभांश वितरण गर्दै छ । गत वर्ष आव २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सभाले लाभांश प्रस्तावसँगै कम्पनीको अधिकृत एवं जारी पूँजी रु. ५ करोड रहेकोमा त्यसलाई वृद्धि गरी रु. १० करोड कायम गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १३ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांशका लागि योग्य भएका हुन् ।
यस कम्पनीले गत आवको चौथो त्रैमाससम्म रु. ३ करोड २२ लाखभन्दा बढी खुद नाफा गरेको छ । सो अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ रु. २२ करोड ८१ लाखभन्दा बढी र जगेडा कोषमा रु. १० करोड ५६ लाखभन्दा बढी रहेको छ ।