रू. २५ करोड ३१ लाखको शेयर किनबेच
माघ ७, काठमाडौं । मङ्गलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ४ दशमलव ८५ अङ्क(शून्य दशमलव ६१ प्रतिशत) घट्यो । सो दिन आठ समूहका कम्पनीहरूको शेयर व्यापार भएकोमा विकास बैङ्क र वित्त कम्पनी बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा नकारात्मक प्रभाव परेको हो । अघिल्ला ८ कारोबार दिन निरन्तर बढेको नेप्से गत सोमबार केही घटेको थियो । गत सोमबार ४ दशमलव ९६ (०.६२ प्रतिशत) अङ्क घटेर ७ सय ९० दशमलव ३ मा बन्द भएको नेप्से मङ्गलवार पुनः सोही दरले घटेर ७ सय ८५ दशमलव ८७ मा आर्लिएको छ ।
नेप्से घटेपछि मङ्गलवार सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबै परिसूचक घटे । सो दिन होटेल, जलविद्युत् र बीमा समूहको परिसूचक क्रमशः ३३ दशमलव २९, ३३ दशमलव २७ र १२ दशमलव १९ अङ्क घटे । बैङ्किङ, बीमा, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहले पनि होटेल, जलविद्युत् र बीमालाई नै पछ्याएपछि समग्र नेप्सेमा नकारात्मक प्रभाव परेको हो ।
सो दिन २ हजार ३ सय ७१ ओटा व्यापारबाट १ सय २० ओटा कम्पनीका ५ लाख ३२ हजार १ सय ८७ कित्ता शेयर किनबेच भए । सो किनबेचबाट रू. २५ करोड ३१ लाख परिचालन भयो भने रू. ७ खर्ब ९७ अर्ब बजार पूँजीकरण भएको छ । सो दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै रू. २ करोड ६१ लाख बराबरको शेयर किनबेच भएको छ । यस्तै, अरूणभ्याली हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, सिटिजन्स बैङ्क इन्टरनेशनल, एनआईसी एशिया र किष्ट बैङ्कको रू. १/१ करोड भन्दा केही धेरैको शेयर व्यापार भएको छ । मङ्गलवार एक्सेल डेभलपमेण्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै ३३ दशमलव ८८ प्रतिशत सस्तियो भने प्यासिफिक डेभलपमेण्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ९५ प्रतिशत महङ्गो भएको छ ।
मङ्गलवार ‘इण्ट्रा डे’ कारोबारमा नेप्सेमा खासै उतारचढाव देखिएन । सो दिन बजार खुलेलगत्तै नेप्से घट्दो क्रममा देखिए पनि त्यसपछिको समयमा नेप्से करीब स्थिर अवस्थामै सञ्चालन भएको थियो । यद्यपि व्यापारको अन्तिम समयतिर भने नेप्से घटेर बन्द भएको छ ।
२० मिनेट कारोबार समय थप
मङ्गलवार शेयर बजारमा कारोबार समय २० मिनेट थपेर व्यापार भएको छ । अन्य दिन नेप्सेमा मध्याह्न १२ बजेदेखि ३ बजेसम्म व्यापार हुँदै आएकोमा मङ्गलवार ३ बजेर २० मिनेटसम्म शेयर किनबेच भएको थियो । प्राविधिक कारणले नियमित कारोबार समयमा केही समय ‘हल्ट’ भएपछि २० मिनेट समय थप गरिएको नेप्सेले बताएको छ ।