काठमाडौं । मंगलवार निकै उतारचढावका बीच नेप्से परिसूचक सम्हालिएर बन्द भएको छ । २ हजार ६७१ दशमलव ६२ विन्दुदेखि खुला भएको यो दिनको बजार २ हजार ६३१ दशमलव ६८ विन्दुसम्म झरेको थियो भने २ हजार ६७४ दशमलव ८८ विन्दुसम्म पुगेको थियो । अन्तिममा बजार सम्हालिएर २ हजार ६६६ दशमलव ६१ विन्दुमा बन्द भएको हो ।
नेप्सेमा आज ‘ह्याम्बर’ आकारको मैनबत्ती आकृति बनेको छ । यसले शेयर बजार घट्ने क्रम रोकिएको र आगामी दिनमा बजार बढ्ने संकेत गरेको जानकार बताउँछन् ।
अघिल्लो कारोबार दिन ३३ दशमलव ३३ अंक घटेको बजार यो दिन ३ दशमलव ४४ अंकले मात्र घटेको हो । चैत मसान्तको दबाब बजारमा परेको जानकारहरू बताउँछन् । साथै सुनको मूल्य घट्ने हल्लाले पनि धितोपत्र बजारका लगानीकर्ता त्यसतर्फ लगानीका लागि जोहो गर्न लागेको जानकारहरूको अनुमान छ । मंगलवार १२१ कम्पनीको धितोपत्र मूल्य बढ्दा १२३ कम्पनीको धितोपत्र मूल्य भने घटेको छ ।
यो दिन तीन कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । बोटलर्स नेपाल बालाजु र विन नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको हो भने नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत बढेको हो । नेपाल माइक्रो इन्स्योरेन्सको शेयर कारोबार पहिलो पटक भएको हो । कारोबारको पहिलो दिनमै कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको हो । पहिलो दिन कम्पनीको शेयर कारोबार ३०२ रुपैयाँ ३० पैसामा सुरु भएको थियो । प्रतिकित्ता ३० रुपैयाँ २० पैसाले बढेर कम्पनीको अन्तिम शेयरमूल्य ३३२ रुपैयाँ ५० पैसा कायम भएको हो । यो दिन कम्पनीको शेयर खरीदमाग सर्वाधिक शिर्षकमा रहेको थियो । पहिलो दिन यस कम्पनीको २१० कित्ता शेयर ६८ हजार ६२४ रुपैयाँमा कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
मंगलवार सर्वाधिक शेयर मूल्य भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको घटेको छ । बाराही हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ८५ प्रतिशतले घटेर अन्तिम मूल्य १ हजार ४७ रुपैयाँ ६६ पैसा कायम भएको हो ।
अघिल्लो कारोबार दिनभन्दा यो दिन कारोबार रकम घटेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँभन्दा बढीको १ करोड १४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा मंगलवार ५ अर्ब ३० करोड ९५ लाख रुपैयाँभन्दा बढीको १ करोड ६ लाख ४३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबारमा पुनर्बीमा क्षेत्रका कम्पनीहरूलाई पछि पार्दै यो दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ । यस कम्पनीको मंगलवार ५९ करोड १४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँ ८८ पैसाले बढेर अन्तिम मूल्य १ हजार ६७८ रुपैयाँ कायम भएको छ ।
मंगलवार कुल बजार पूँजीकरण ४४ खर्ब २७ अर्ब ९५ करोड ८४ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । अघिल्लो कारोबार दिनभन्दा यो दिन कुल बजार पूँजीकरण ५ अर्ब ७२ करोड ६८ लाख रुपैयाँले कम भएको हो । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण ४४ खर्ब ३३ अर्ब ६८ करोड ५३ लाख रुपैयाँभन्दा बढी कायम थियो ।
यो दिन उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिन्छ । यो समूहको परिसूचक १ दशमलव ५७ प्रतिशत बढेको छ । त्यस्तै व्यापारिकको शून्य दशमलव ७० प्रतिशत, वित्तको शून्य दशमलव ६० प्रतिशत र निर्जीवन बीमाको शून्य दशमलव १३ प्रतिशत परिसूचक बढेको छ । यीबाहेक बाँकी समूहको परिसूचक भने यस दिन घटेको छ ।
बैंकिङको शून्य दशमलव ३० प्रतिशत, विकास बैंकको शून्य दशमलव १६ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ४८ प्रतिशत, जलविद्युतको शून्य दशमलव ४९ प्रतिशत, लगानीको शून्य दशमलव २५ प्रतिशत, जीवन बीमाको शून्य दशमलव १७ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य ८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १५ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशमलव ५७ प्रतिशत घटेको छ ।
पछिल्लो कारोबार दिनको उतारचढावलाई हेर्दा बजारप्रति लगानीकर्ताको मनोबल बढ्न नसकेको देखिन्छ । लगानीकर्ताको उत्साह बढ्ने खालका नयाँ विषय नआए आगामी दिनमा पनि बजार सकारात्मक बन्ने सम्भावना कम रहेको ब्रोकरहरूले अनुमान लगाएका छन् ।