सरकारले चालू आर्थिक वर्ष २०६९/७० को ३ महीनामा ३० ओटा निर्यातमूलक उद्योगलाई प्रोत्साहन रकम दिएको छ । आफ्ना उत्पादन विभिन्न मुलुकमा निर्यात गर्ने ती उद्योगलाई नगद प्रोत्साहनस्वरूप करीब १३ करोड रुपैयाँ उपलब्ध गराइएको उद्योग विभागले बताएको छ । ‘प्रोत्साहन रकमका लागि ६० ओटा उद्योगले निवेदन दिएका थिए,’ विभागका निर्देशक रामशरण चिमोरियाले भने, ‘प्रक्रिया तथा कार्यविधिको मापदण्ड पुर्याउने ३० उद्योगलाई नगद सुविधा उपलब्ध गराइएको हो ।’ सरकारले गत आवदेखि निर्यातमूलक उद्योगलाई नगद प्रोत्साहन दिने व्यवस्था गरेको हो । सोअनुसार कुनै पनि उद्योगले भारतबाहेकका देशमा निर्यात गरेर आर्जन गरेको परिवत्र्य विदेशी रकमबराबरको २ प्रतिशत नेपाली रुपैयाँ नगद प्रोत्साहनस्वरूप प्राप्त गर्दछन् ।
उनीहरूलाई मूल्य अभिवृद्धिको कर (भ्याट)को ४ प्रतिशत रकमसमेत फिर्ता गरिने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार विभागको सिफारिशमा ती उद्योगलाई राष्ट्र बैङ्कले नगद प्रोत्साहन दिएको हो । यसरी नगद प्रोत्साहन पाउनेमा सबैभन्दा बढी दलहन उद्योग छन् । गलैंचा निर्यात गर्ने एउटै उद्योगले करीब रू. १ करोडसम्म नगद पाएको विभागले बताएको छ ।
वर्ष ८, अंक ८५, बिहीवार २८ मङ्सिर, २०६९