नेपालमा अर्थोकमा नभए पनि दुईटा कुरामा चाहिँ निकै प्रगति भएको छ– देशैभर चटके र चाटुकारको वृद्धि । मेरो बुझाइ के थियो भने देशमा नयाँ संविधान आएपछि सामान्य मानिसको जीवन अलि सहज हुन्छ र सुविधाहरू बढ्नेछन् । तर त्यस्तो केही भएन । बढे त केवल चटके र चाटुकारहरू । कहिलेकाहीँ सोच्छु कि यी चटके र चाटुकारहरू ‘देशमा गरीबी हटाऊ र समृद्धि बढाऊ’ नीति तथा कार्यक्रमअन्तर्गत भित्रबाट नै स्वत: उत्पादन भइरहेका हुन् वा यी कसैका कुनै योजना अन्तर्गत बाहिरबाटै आइरहेका छन् ?
प्रत्येक दिन पत्रपत्रिकाको दुई प्रमुख समाचार आँखा अगाडि आउँछन्– राजनीतिमा कुनै नयाँ चटके आएको र देशभरि जताततै चाटुकारहरूले छाएको । त्यो पनि नित्य नयाँ नयाँ कलेवरमा । टिभी हेर्यो यिनैको चर्चा, सामाजिक सञ्जालमा यिनैमाथि प्रशंसाको वर्षा । कुनै एउटा चटके कहिले आँखा चिम्म चिम्लेर दाह्रा किटी किटी अन्धाधुन्ध टिभीमा कराइरहको हुन्छ त कहिले आमसभालाई सम्बोधन गरिरहेको हुन्छ । मिसन छ, भिजन छैन, गाली छ, योजना छैन । तैपनि मानिशहरूको ताली छ । नयाँ चटकेको चटकी कुरा सुन्न र हेर्न जनता आफ्ना सारा कामधाम छाडेर, आफ्ना पनि आँखामा पट्टी बाँधेर सडक, पार्क, मण्डला, खुला मैदानमा पुग्छन् । त्यहाँ जान नसक्नेहरू आफ्ना सामाजिक सञ्जालका भित्तामा घण्टौं आँखा अड्याएर, चटकेका कुरा सुनेर आफ्ना सबै कुरा बिर्सन्छन् ।
अचम्म के छ भने हिजोका चटके र चाटुकारलाई तीन पुस्ता पुग्नेगरी सराप्नेहरू नयाँलाई चाहिँ भगवान् मान्छन्, उनीहरूबाट चमत्कारको आशा राख्छन् । एउटा सिन्को उठाए पनि हनुमानले पर्वतै उठाएजस्तो गरी वाहवाह भन्छन् । पट्टी चटकेको आँखामा हो कि जनताको दिमागमा छुट्ट्याउनै गाह्रो छ ।
अचम्म के छ भने हिजोका चटके र चाटुकारलाई तीन पुस्ता पुग्नेगरी सराप्नेहरू नयाँलाई चाहिँ भगवान् मान्छन्, उनीहरूबाट चमत्कारको आशा राख्छन् ।
यो देशमा ठूलठूला चटकेहरू पहिलादेखि नै छन् । ३ दशकभन्दा बढी समयदेखि आँखामा पट्टी बाँधेरै जनतालाई मुक्ति दिने घोषणा गरिरहेकै छन् । जनता पनि उनका कुरामा विश्वास गरेर झ्याली पिटेझैं झ्याम झ्याम ताली बजाइरहेकै छन् । अलिक ताली कम बज्यो कि तिनले जादूका नयाँ फन्डा निकाल्छन् र जनता ती फन्दामा परिहाल्छन् । यसो नभए त तिनको झन्डा र डन्डा उडिहाल्छ ।
जब यी चटकेहरूले जनता अलि व्याकुल भएको देख्छन्, तब तुरुन्त आफ्नो नयाँ जादूको खेल शुरू गर्दिहाल्छन् । समावेशी, समृद्धि, न्याय, समानता, समानुपातिक, आदि आदि । जनता फेरि नयाँ जादू हेरेर मख्ख पर्छन् र ताली ठोक्न थाल्छन् । फेरि कसैले प्रश्न गर्छन्– ‘हे चटकेप्रसाद ? आँखामा पट्टी बाँधेर राजनीतिक गाडीमा कता सवार हो ? कुन दिशामा जान लाग्या हो ? समाजवाद ? साम्यवाद ? समृद्धि ? खुशी ? गरीबी हटाऊ ? कुन चैं गन्तव्य ?’
तर चटकेहरू उत्तर दिन सिपालु छन्, भन्छन्– ‘गन्तव्यसँग तिमीलाई के मतलब ? यहाँ सबै जनता चटक मात्र हेर्न चाहन्छन् । हामी धरहरा वा भ्यूटावरमा चढाएर उनीहरूलाई चटक देखाइरहन्छौं । योभन्दा अरू के चाहियो त ?’
जनतालाई साँच्चै केही चाहिएको देखिँदैन नै । उनीहरूलाई केवल नयाँ नयाँ चटक हेरिरहन मन पर्छजस्तो छ । नयाँ दुलहीले जे गरे पनि राम्रो जस्तै भाछ जनतालाई पनि । मलाई लाग्छ कि यी भर्खर भर्खर आएका साना नयाँ चटकेहरू हरेक दिन जुन नयाँ नयाँ चटक देखाइरहेका छन्, उनीहरूले यो देशका पुराना चटके राजनेताहरूबाटै प्रेरणा लिएर त्यसो गरिरहेका छन्, जो तीसौं वर्षदेखि चटक देखाई देखाइकन जनतालाई ‘खुशीको भ्रम दिन’ सफल छन् ।
म सोच्छु कि जुन देशमा यति धेरै चटकेहरू जन्मिएका छन्, त्यो देशका जनताका भित्री हालत कस्तो होला ? उनीहरू चटकेहरूका जादू वा चटकहरूबाट किन यत्ति धेरै प्रभावित भए होलान् ? उनीहरू चमत्कार हुने कुरामा यति धेरै मुग्ध किन छन् ? उनीहरू दाल, चामल, तरकारीको पसलमा गएर लाइन लाग्छन् । तर जब ती चीज त्यहाँ पाउँदैनन् वा ती चिज किन्न सक्दैनन्, तब उनीहरू खाद्यान्नको लाइन छाडेर चटकेका चटक हेर्न किन जान्छन् ?
यी प्रश्नहरूको उत्तर पाइएको छैन । मलाई लाग्छ ३० वर्षमा देशका मानिशहरूको मानसिकता यस्तो बनाइसकिएको छ कि ‘चटक र चमत्कारको जादुमै छ परमानन्द’ । राजतन्त्रविरुद्धको लडाइँ यस्तै एउटा चटक थियो । अलि ठूलै स्केलको चटक । जनताले अहिलेसम्म पनि ताली पिटिरहेकै छन् । यता यातायातदेखि भन्सार, खाद्यान्नदेखि अस्पतालको संसार सबैतिर लाइन बढ्दो छ । मेरो अनुमान यो छ कि छिट्टै नै फेरि अर्को सर्वदलीय बैठक बस्नेछ । शिखर वार्ता हुनेछ, देशमा नभए विदेशमा । फेरि १२ बुँदे वा १६ बुँदे सम्झौता नामक नयाँ चटक देखाइनेछन् ।
गरीबी बढिरहेको छ । महँगी बढिरहेको छ । बेरोजगारी बढ्दो छ । जनता चैनमा छन् कि बेचैनमा छन् बुझिनसक्नु छ । मानिशहरू देश छाडेर भाग्न थालिसकेका छन् । तर मलाई लाग्छ फेरि हाम्रा दलहरूले एउटा नयाँ चटक ल्याउनेछन् । पुराना फर्मुला डेट एक्स्पायर्ड भए पनि त्यसमा केही न केही नयाँ थप्ने चटक गर्ने नै छन् । हेर्नुहोला केही दिनमा नै केही नयाँ चटक आइहाल्नेछ बजारमा । अब त मलाई पनि नयाँ चटकेहरूका नयाँ नयाँ चटक झटक हेर्ने बानी परिसकेजस्तो छ । कुनै चटक हेर्न पाईएन भने कस्तो खल्लो लाग्छ भन्या ! तरकारीमा नुन नहालेजस्तो क्या ! अब फेरि छिट्टै कुनै नयाँ र लामै चटक हेर्न पाउने व्यग्र प्रतिक्षा गरिरहेको छु । तपाईं पनि हेर्ने हैन त नयाँ नयाँ चटक ?