काठमाडौं । ओरियन्टल होटल्स् लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गर्दै असोज २० गते २७औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।ओरियण्टल
सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ । सभाले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । गत वर्ष पनि कम्पनीले ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
गत वर्ष भने कम्पनीले कर समेत नगद लाभांश वितरण गरेको हो । यस वर्ष भने कम्पनीले बोनस शेयरमा जोड दिएको छ । यी प्रस्तावहरूसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।