नेपालमा विगत वर्षहरूदेखि नै पेट्रोलियम पदार्थ तथा सम्बद्ध क्षेत्रका उत्पादित वस्तु (जसमा लुब्रिकेन्ट्स कोइला आदि समेत पर्छन्) को प्रमुख रूपमा आयात हुने गरेको छ । यसको आयातका लागि ठूलो परिमाणमा वैदेशिक मुद्रा खर्च हुने गरेको छ । एचएस कोडको शीर्षक २७ अन्तर्गत पर्ने वस्तुहरूमा प्रमुख रूपमा डिजेल, पेट्रोल, एलपी ग्यास, कोइला, हवाई इन्धन, लुब्रिकेन्टस् आदिको आयात हुने गरेको छ । डिजेल आयात मूल्यका हिसाबले सम्पूर्ण आयातमै प्रथम स्थानमा निरन्तर रहिआएको छ ।
पेट्रोल पनि प्रमुख आयात हुने वस्तुमध्येमा पर्दै आएको छ । चालू आर्थिक वर्ष (आव) को प्रथम ८ महीनाको आयात विवरण मात्र हेर्दा पनि डिजेलले सम्पूर्ण आयातको करीब ६ दशमलव ९ प्रतिशत अंश र पेट्रोलले करीब ३ दशमलव ७ प्रतिशत अंश ओगटेको देखिन्छ । एचएस कोडको शीर्षक २७ अन्तर्गत पर्ने वस्तुहरूमा भने डिजेलले आयातको ३८ दशमलव २ प्रतिशत अंश र पेट्रोलले २० दशमलव ७ प्रतिशत अंश ओगटेको छ ।
भन्सार विभागबाट प्रकाशित तथ्यांक अनुसार आव २०७६/७७ मा डिजेलको कुल आयात रू. ८७ अर्ब ४० करोड भएकोमा आव २०७७।७८ मा रू. ९१ अर्ब ९४ करोड मूल्यको आयात भएको थियो । त्यस्तै आव २०७८।७९ मा रू. १६८ अर्ब २३ करोड मूल्यको, आव २०७९/८० मा रू. १५३ अर्ब ७७ करोड मूल्यको र आव २०८०/८१ मा रू. १४३ अर्ब ९८ करोड मूल्यको आयात भएको थियो । यसरी हेर्दा यसको आयात उच्च नै देखिए तापनि पछिल्ला वर्षहरूमा आयातमा घट्दो प्रवृत्ति देखिन्छ । तर, पेट्रोलको आयात भने करीब स्थिर देखिन्छ । खाना पकाउन प्रयोग गरिने एलपी ग्यासको आयात केही घट्न खोजेको देखिए पनि खासै कमी आउन सकेको देखिँदैन । हवाई इन्धनको आयात स्थिर वा थोरै भए पनि बढेको नै छ ।
यसले के संकेत गर्न खोजेको होला त ? विद्युतीय सवारीसाधनको प्रयोगको प्रभावले केही नतिजा दिन लागेको हुन सक्छ । साथै खाना पकाउन विद्युतीय चूल्होको प्रयोग पनि बिस्तारै नतिजामा देखिन लागेको पनि हुन सक्छ । अथवा, जनसंख्याको वृद्धिदर घट्नुको नतिजा पनि देखिएको हुन सक्छ । या बहुआयामिक प्रभाव पनि हुन सक्छ ।
लेखक तथ्यांक शास्त्री एवं भन्सार विभागका पूर्वकर्मचारी हुन् ।