काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएसँगै डलर बलियो बन्ने गतिमा ‘ब्रेक’ लागेको छ ।
फेडले गत बिहीवार २५ आधार विन्दुले ब्याजदर कटौती गरेपछि त्यसको प्रभाव डलरको भाउमा देखिएको हो ।
डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि डलरको भाउ बढिरहे पनि शनिवारबाट त्यो गति कम भएको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले शनिवार (आज)का लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलरको विक्रीदर १ पैसा मात्रै बढेको छ । राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको विक्रीदर १३५ रुपैयाँ ३१ पैसा छ । गत शुक्रवार यस्तो विक्रीदर १३५ रुपैयाँ ३० पैसा थियो ।
बीबीसीका अनुसार ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको दिन बुधवार डलर इन्डेक्स करीब १.९ प्रतिशतले बढेको थियो, जुन ४ महीनाकै उच्च थियो ।
ट्रम्प निर्वाचित भएको भोलिपल्ट नेपालमा पनि डलरको भाउ बढेको थियो । राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमयअनुसार अमेरिकी डलरको विक्रीदर २८ पैसाले बढेर १३५ रुपैयाँ १६ पैसा पुगेको थियो । ट्रम्प निर्वाचित भएको दिन गत बुधवार भने डलरको विक्रीदर १३४ रुपैयाँ ८८ पैसा थियो ।
फेडले ब्याजदर घटाएसँगै अमेरिकी बैंकमा निक्षेपकर्ताको आकर्षण घटेकाले डलर बलियो बन्ने गति रोकिएको जानकार बताउँछन् ।