काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले बाढीपहिरोबाट प्रभावितहरूको अस्थाई आवास निर्माण, उपचार, राहत प्याकेज उपलब्ध गराउने, क्षतिको नोक्सानी मूल्याङ्कन गर्न 'टास्क फोर्स' गठन गर्ने लगायतका निर्णयहरू गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार बसेको समितिको बैठकले घर गुमाएकाहरूलाई १० दिन भित्र अनुदानको पहिलो किस्ता उपलब्ध गराउने निर्णय गरेको छ । बैठकमा सात दिन भित्र लाभग्राही पहिचान गर्ने र त्यसको ३ दिन भित्र अनुदान रकमको पहिलो किस्ता उपलब्ध गराउने निर्णय भएको हो। उक्त निर्णय जिल्लास्थित विपद् व्यवस्थापन समितिबाट अस्थायी आवास अनुदान रकम दिने व्यवस्था मिलाइने छ ।
अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड २०८१ अनुसार पहिलो किस्ता पहिलो किस्तामा २५ हजार रुपैयाँ दिइनेछ । बैठकले मनसुनजन्य विपदका कारण ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै खोजी उद्धार र राहतको कामलाई तीव्रता दिने निर्णय पनि गरेको छ।
त्यस्तै बैठकले अवरूद्ध सडक मर्मत गरी सञ्चालनमा ल्याउने, राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न निर्णय गरेको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यथाशीघ्र सडकहरू सञ्चालनमा ल्याउने व्यवस्था गर्ने उल्लेख छ ।
खानेपानीलगायत पूर्वाधार सञ्चालनका लागि पनि छिटो सेवा प्रवाह गर्ने पनि निर्णय भएको छ । विपदमा फैलन सक्ने महामारीको आकलन गरी महामारीजन्य रोग फैलन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविर लगायतको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ।
कानून मन्त्रालयको राय लिएर विपद् संवेदनशील सामाजिक सुरक्षा मापदण्ड, २०८१ लाई स्वीकृति गर्ने सम्बन्धमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३९ बमोजिम मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्न सिफारिस गर्ने निर्णय पनि भएको छ।
बैठकले क्षतिको नोक्सानी मूल्याङ्कन गर्न 'टास्क फोर्स' गठन गर्ने निर्णय समेत गरेको छ । प्राधिकरणका सहसचिवको संयोजकत्वमा गृह, अर्थ, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, शिक्षा, सहरी, खानेपानी, ऊर्जा, सूचना मन्त्रालयका विज्ञ र अन्य विज्ञ सम्मिलित समिति गठन गर्ने निर्णय भएको हो।
यस्ता छन् निर्णयहरु:
१. मनसुनजन्य विपद्का कारण मृत्यु भएका प्रति श्रद्धाञ्जली सम्बन्धमा
यस वर्षको मनसुनजन्य बाढी, पहिरो, डुबान, चट्याङ्ग जस्ता विपद्को उद्धारका क्रममा मृत्यु भएका सुरक्षाकर्मी तथा सर्वसाधारणहरु प्रति भावपूर्ण श्रद्धाञ्जली एवं मृतकका परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वस्थ्य लाभको कामना गर्ने।
२. खोज, उद्धार, राहत कार्यलाई तीव्रता दिने ।
विगत तीन दिनको भारी वर्षातका कारण सिर्जित विपद् प्रभावित क्षेत्रमा खोज, उद्धारका बाँकी कार्यहरूलाई निरन्तरता दिँदै मौमसजन्य विपद प्रभावितहरूका लागि राहत वितरणको प्रकृया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने। विपदमा मृत्यू भएका व्यक्तिका परिवारलाई विपद पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम बेपत्ता भएका व्यक्तिका परिवारलाई नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८१।०३।३१ को निर्णय नं (ख) बमोजिम राहत रकम उपलब्ध गराउने ।
३. अस्थायी आवास निर्माण अनुदान उपलब्ध गराउने ।
विषदमा घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माणका लागि विपद् प्रभावित व्यक्तिहरूका लागि सात दिनभित्र लाभग्राही पहिचान गरी तीन दिनभित्र अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने ।
४. सडक मर्मत गरी आवागमन सुचारु गर्ने सम्बन्धमा
राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुहरूलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न अवरुद्ध भएका सडक खण्डहरु यथाशिघ्र सञ्चालन गर्ने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने । बाढी पहिरोबाट हाल उत्पन्न विषम परिस्थितिमा सडक, खानेपानी लगायतका पूर्वाधार यथाशिघ्र सञ्चालन गरी सेवा प्रवाह सुचारु गर्न सम्बन्धित निकायले छिटो प्रकृयाबाट आवश्यक व्यवस्थापकीय कार्य गर्ने ।
५. मानवीय सहायता परिचालन सम्बन्धमा
विपद् प्रभावितहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ८ (भ) बमोजिम मानवीय सहायता परिचालन गर्न नेपाल स्थित संयुक्त राष्ट्र सङ्घीय निकाय रेडक्रसका अन्त लगायतका साझेदार संस्थाहरूबाट सम्बन्धित
निर्णयबमोजिमःआवश्यकतानुसार सहायता परिचालन गर्ने।
६. विपद् पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने सम्बन्धमा
विपद् पश्चात फैलिन सक्ने महामारीको आँकलन गरी महामारीजन्य रोग फैलन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविरहरू लगायतका कार्यक्रम सञ्चालन गर्ने।
७. विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुननिर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ को कार्यान्वयन सम्बन्धमा ।
कार्यकारी समितिको २२ औं बैठकबाट विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुननिर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ लाई संशोधन सहित कार्यान्वयनका लागि अर्थ मन्त्रालयको सहमति प्राप्त गरी माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरबाट स्वीकृत गर्ने निर्णय भएकोमा अर्थ मन्त्रालयको च.नं. ४५ मिति २०८१/०४/२५ को पत्रमार्फत प्रस्तावित संशोधित कार्यविधिको हकमा अर्थ मन्त्रालयको मिति २०८१/०२/०६ को निर्णय बमोजिम बझाङ, जाजरकोट र डोटी केन्द्रविन्दु भएर गएको भुकम्पबाट प्रभावित जिल्लाहरुलाई मात्र लागु हुने र अन्यको हकमा मिति २०८०/१२/०२ को निर्णयानुसार नै हुने गरी सहमति प्रदान गरिएको व्यहोरा सहितको राय प्राप्त भएकोले विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुननिर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ संशोधित कार्यविधि स्वीकृतिका लागि नेपाल सरकार मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३९ बमोजिम सिफारिस गर्ने ।
८. क्षतिग्रस्त संरचनाहरुको पुननिर्माण सम्बन्धमा
देशका विभिन्न स्थानहरूमा मनसुनजन्य विपद्का कारण क्षतिग्रस्त भएका सरकारी तथा सार्वजनिक भवन, सडक, पुल, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था लगायतका संरचनाहरूको यथाशीघ्र पुननिर्माण कार्य सम्बन्धित मन्त्रालयले अघि बढाउने ।
९. विपद् संवेदनशील सामाजिक सुरक्षा मापदण्ड, २०८१ स्वीकृत गर्ने सम्बन्धमा
कानुन मन्त्रालयको राय लिई विपद् संवेदनशील सामाजिक सुरक्षा मापदण्ड, २०८१ लाई स्वीकृति गर्ने सम्बन्धमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३९ बमोजिम मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न सिफारिस गर्ने ।
१०.क्षति नोक्सानी सम्बन्धमा Task Force बनाउने
विपद्बाट भएको क्षति नोक्सानीको Assessment गर्न प्राधिकरणका सहसचिवको संयोजकत्वमा निम्न निकायको प्रतिनिधित्व सहित एक समिति गठन गरी १५ दिनभित्र क्षतिको विवरण संकलन गर्नेः
क. गृह मन्त्रालय, उपसचिव
ख. अर्थ मन्त्रालय, उपसचिव
ग. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उपसचिव (प्राविधिक)