काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ९७ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले सोमवार (आज) एक सूचना प्रकाशित गरी उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्न लागेको जानकारी दिएको छ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ७७ करोड ६० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १४ करोड ५५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले उक्त रकम मुद्दति निक्षेपका रूपमा लगानी गर्न लागेको हो । उक्त रकम यही वैशाख ७ गतेदेखि २०८३ वैशाख ७ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा दिइने राष्ट्र बैंकले जानकारी दिएको छ ।
मुद्दती निक्षेपका रूपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले यही वैशाख ३ गते साँझ ७ बजेभित्र ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।
उक्त रकम लिनका लागि मापदण्ड पनि तोकिएको छ । उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको, न्यूनतम कुल पूँजीकोष कायम भएको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको, बैंकले निर्धारण गरेबमोजिमको खुद तरल सम्पत्ति अनुपात कायम गरेको हुनुपर्ने उल्लेख छ ।
यस्तै, निकटटम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद मुनाफामा रहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महीना पूरा भएको, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएमा सो फुकुवा भएको ६ महीना पूरा भएको, सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्नेलगायत मापदण्ड तोकिएका छन् ।