काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँले अधिवेशन बोलाउनुभएको हो । मन्त्रिपरिषदले संसदको हिउँदे अधिवेशनका लागि यही माघ ७ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपति पौडेलले माघ १८ गते दिउँसो १ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।