काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा असार २२ गते गर्ने भएको छ । सभा काभ्रेपलाञ्चोकको धुलिखेल-३, नयाँगाउँ मार्गस्थित धुलिखेल लज रिसोर्टमा उक्त दिन बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको हो ।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्ता पूँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ, जसमा १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन् ।
त्यस्तै सोही सभाले बोनस शेयर वितरणपछि कम्पनीको जारी र चुक्ता पूँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सभाले अन्य लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै बिपिडब्लु लघुवित्तसँगको मर्जर कार्यको प्रक्रिया अगाडि बढाउने सञ्चालक समितिको निर्णय सभाले पारित गर्ने बताइएको छ । सोही सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १४ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा असार १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।