काठमाडौं । सानिमा बैंक लिमिटेडले कात्तिक २ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौं चण्डोलस्थित कुण्डलिनी दरबार ब्यान्केटमा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभामा गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई पारितका लागि प्रस्ताव पेस गरिनेछ । साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याइनेछ ।
बैंकले प्रस्ताव गरेको लाभांश पारितका लागि सभामा पेस गरिनेछ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा कुल १४ दशमलव ७० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कुल लाभांशमध्ये ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ५ दशमलव ७० प्रतिशत नगद लाभांश रहेको जानकारी बैंकले दिएको छ । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले गत वर्षभन्दा यस वर्ष बढाएर लाभांश वितरण गर्न लागेको हो । गत वर्ष बैंकले अघिल्लो आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
साधारण सभा प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज २१ गतेसम्म कायम शेयरधनीहरूमात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।