काठमाडौं । धितोपत्र कारोबारलाई अनलाइनसँग जोड्ने मेरो शेयर सेवा खातामध्ये करीब एक तिहाइ हाल निष्क्रिय छन् । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले दिएको जानकारीअनुसार ५३ लाख ४५ हजार ६६ मेरो शेयर खाता खोलिएकोमा १७ लाख ७१ हजारभन्दा बढी निष्क्रिय छन् । सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले जेठ ३१ गतेसम्म ३५ लाख ७३ हजार ९१३ खाता मात्र सक्रिय रहेको जानकारी दिए ।
पछिल्लो समय मेरो शेयर खाता निष्क्रिय हुने क्रम बढिरहेको उनी बताउँछन् । मेरो शेयर खाता सञ्चालनबापत वार्षिक नवीकरण शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । सेवाप्रदायक संस्थाले वार्षिक ५० रुपैयाँ शुल्क भुक्तानी नगरे स्वत: खाता रोक्का गरिदिने व्यवस्था छ ।
न्यौपानेका अनुसार पछिल्लो समय सार्वजनिक निष्कासन ठप्प हुँदा मेरो शेयर खाता नवीकरणमा लगानीकर्ताले खासै चासो दिएका छैनन् । गत पुस २० गतेदेखि नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त छ । अध्यक्ष नहुँदा धितोपत्रको सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया ठप्प छ ।
पुस १९ गतेपछि सार्वजनिक निष्कासनका लागि कुनै पनि कम्पनीले स्वीकृति पाएका छैनन् । पहिल्यै स्वीकृति लिएको रिडी पावरले फागुन १८ देखि चैत ८ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो । त्यसपछि सार्वजनिक निष्कासन ठप्पै छ ।
भोलिका दिनमा प्रारम्भिक सार्वजनिक निष्कासनले निरन्तरता पाउनासाथ मेरो शेयर खाता नवीकरणमा तीव्रता आउने अपेक्षा न्यौपानेको छ । लगानीकर्ता लक्ष्मण घिमिरेले शुरुआती दिनमा आफ्ना सबै परिवारले डिम्याट र मेरो शेयर खाता निरन्तर चलाए पनि पछिल्लो २ वर्षदेखि आफ्नोबाहेक अन्यको दुवै खाता निष्क्रिय रहेको बताए ।
२०७६ सालमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को शेयरका लागि आवेदन दिनकै लागि उनले परिवारका पाँच जनाको नाममा डिम्याट र मेरो शेयर खाता खोलेका थिए । विशेष गरी आईपीओ भर्नकै लागि सबै परिवारको नाममा खाता खोलेको उनले बताए । ‘आईपीओमा शेयर पर्ने सम्भावना कम हुँदै गएकाले परिवारको खाता निष्क्रिय रहेको हो,’ उनले भने ।
धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा हुने कारोबारमा धितोपत्र राफसाफका लागि मेरो शेयर खाता प्रयोगमा आए पनि विशेष गरी प्राथमिक बजारमा सार्वजनिक निष्कासन (आईपीओ)को धितोपत्र खरीद गर्न मेरो शेयर खाता प्रयोग गर्नेको संख्या बढी थियो । अर्कोतर्फ अहिले दुईओटासम्म डिम्याट खाता चलाउन पाइने व्यवस्थाका कारण एक जनाले दुईओटा मेरो शेयर खाता खोल्न सक्छन् । लगानीकर्ताले एकभन्दा बढी मेरो शेयर खाता नवीकरण नगर्दा पनि निष्क्रिय खाताको संख्या बढेको हुन सक्ने न्यौपानेले बताए ।
केही वर्षयता वित्तीय क्षेत्रका अतिरिक्त जलविद्युत् र उत्पादनमूलक उद्योगका धितोपत्र पनि बजारमा आएकाले लगानीकर्ता थपिँदै गएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार हाल धितोपत्रको दोस्रो बजारमा २० लाख ५३ हजारभन्दा बढी लगानीकर्ता सक्रिय सहभागी भई कारोबार गरिरहेका छन् । नेप्सेले १ वर्षको कारोबारमा कम्तीमा एकपटक कारोबार गरेका लगानीकर्तालाई सक्रिय लगानीकर्ताको सूचीमा राख्ने गरेको छ ।
दोस्रो बजारमा कारोबारका लागि ३७ लाख ११ हजारभन्दा बढी लगानीकर्ताले सदस्यता लिए पनि २० लाखभन्दा केही बढीमात्र सक्रिय रहेको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले बताए ।