काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने लगायतका प्रस्ताव पारितका लागि यही माघ २४ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ ।
यसअघि पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई वार्षिक साधारण सभाबाट स्वीकृति प्रदान गर्ने तयारी कम्पनीले गरेको हो ।
सभा काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे शुरु हुनेछ । यही माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो । सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावसँगै यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ ।
हकप्रद शेयर निष्कासनपछि पूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । साथै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ९६ लाख २५ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले आयोजना निर्माण तथा मर्मतका लागि लिइएको कर्जा भुक्तानी प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको जानकारी दिएको छ ।
यस कम्पनीले पाँचथर जिल्लामा १४ दशमलव ९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । गत असार २ गते आएको अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएको र सोको मर्मतका लागि थप कर्जा लिनुपरेको भनाइ कम्पनीको छ ।
आयोजना पुनः सञ्चालनमा ल्याउन हाल आयोजनाको पुनः निर्माण भइरहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले यही माघ ११ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ १० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।