काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ । प्रदेश च्याप्टरको बुधवार भैरहवामा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका हुन् । सो अवसरमा उपप्रधानमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा नेपाल उद्योग परिसंघले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सरकारले थप भूमिकाको आशा गरेको बताए । उनले गतिशिल समय र तीब्र प्रतिस्पर्धाको दुनियाँमा समयको गतिलाई बुझ्न, प्रतिस्पर्धामा आफ्नो स्थान सुरक्षित राख्ने गरी अगाडि बढ्न युवा उद्यमीलाई सुझाव दिए ।
अर्थमन्त्री पौडेलले औषत काम गरेर बस्ने सुविधा सरकारलाई नभएको भन्दै सरकारले कानून र नीतिमा सुधार गरेर सुधारको काम गरेको बताए । सुधारको काम, अनुकूल व्यावसायिक वातावरण थप बढाउँदै लैजाने प्रतिबद्धता समेत उनले व्यक्त गरे । सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले युवालाई उद्यमशील बनाउन नीतिबाटै सहजीकरण, प्रोत्साहन गर्न आवश्यक रहेकोमा जोड दिए । देशमा रोजगारी बढाउन, औद्योगिकीकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेको बताए । युवालाई देशमै उद्यमी बनाउन हौसला प्रदान गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
सीएनआई लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा पलायनता बढिरहेको बेलामा देशभित्रै केही गर्नुपर्छ भनेर यही उद्यमी बन्ने युवालाई धन्यवाद व्यक्त गरे । सीएनआई युवा उद्यमी मञ्चका अध्यक्ष आशिष अग्रवालले मञ्चमार्फत नयाँ अवसरहरू खोज्दै, उद्यमशीलतामा नयाँपन ल्याउँदै र देशको आर्थिक विकासमा योगदान पुर्याउने संकल्पका साथ युवा अघि बढ्न चाहेको बताए । मञ्च लुम्बिनी प्रदेश च्याप्टरको बोर्डमा राजन कसजु, विकास पाण्डे, अभिषेक पाठक, अर्जुन पाठक, रोनिश श्रेष्ठ, सुरज उप्रेती, विवेक कसौधन, अभिनव थापा रहेको बताइएको छ ।