सिन्धुली धूवाँरहित जिल्ला बन्दै
१ वर्षमा २ हजार ८ सय ४४ घरमा सुधारिएको चुल्हो
राजन गाउँले
असार २४, सिन्धुली । सिन्धुली जिल्लामा अभियानका रूपमा सुधारिएको चुल्हो निर्माण गर्ने काम थालिएको छ । धूवाँरहित जिल्ला बनाउने उद्देश्यले सिन्धुलीका २४ गाविसमा सुधारिएको चुल्हो अभियान थालिएको हो । सिन्धुलीगढी सेवा प्रतिष्ठान र उज्यालो नेपाल सिन्धुलीको संयुक्त पहलमा यस्तो अभियान शुरू गरिएको प्रतिष्ठानका अध्यक्ष बलराम बरालले बताए । उनले भने, '१ वर्षको अवधिमा ती गाविसका २ हजार ८ सय ४४ घरमा
सुधारिएको चुल्हो निर्माण गरिसकिएको छ ।’ जिल्लाका बाँकी २९ गाविसमा पनि सो कार्यक्रम छिट्टै लागू गर्ने उनले जानकारी दिए । धूवाँका कारण बालबालिका, वृद्धवृद्धा र गर्भवती महिला अत्यधिक श्वासप्रश्वास रोगबाट पीडित हुने भएकाले त्यसको न्यूनीकरणका लागि यो अभियान थालिएको प्रतिष्ठानले बताएको छ ।
सुधारिएको चुल्हो निर्माणका लागि ती दुई संस्थाले प्रत्येक गाविसमा विभिन्न उपसमिति तथा समूह गठन गरेर काम गरिरहेका छन् । प्रतिष्ठानले डुडभञ्ज्याङ, तीनकन्या, बितिजोर, भुवनेश्वरी, शीतलपाटी, मझुवा, पुरानो झाँगाझोली, झाँगाझोली रातमाटा, दुम्जा, अमले, बस्तीपुर र तामाजोर गाविसमा कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैगरी उज्यालो नेपालले रानीचुरी, बेल्घारी, रानीबास, निपाने, हत्पते, दुधौली, सिर्थौली, टाँडी, लाम्पण्टार, जरायोटार, हर्षाही र आम्बोटे गाविसमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा क्षेत्रीय नवीकरणीय ऊर्जा सेवा केन्द्र, रिमरेक बनेपाले सहयोग गरिरहेको प्रतिष्ठानका अध्यक्ष बरालले बताए ।
स्थानीय स्तरमा सेवाप्रदायक संस्थाहरू छनोट गरी कार्यक्रम सञ्चालन गरिएकाले प्रभावकारी भएको रिमरेकका फिल्ड प्रतिनिधि नन्द ओझाले बताए । यस अभियानअन्तर्गत आर्थिक कारण घरमा सुधारिएको चुल्हो निर्माण गर्न नसक्ने परिवारलाई यसबाट हुने लाभबारे जानकारी दिने गरिएको छ । साथै, संस्थाले नै चुल्हो निर्माण गरिदिने भएकाले त्यस्ता परिवार आफूले श्रमदान गरेर भए पनि चुल्हो निर्माण गर्न तयार हुने गरेको सेवाप्रदायक संस्थाहरूले बताएका छन् ।
कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सुधारिएको चुल्हो निर्माणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने प्रवर्द्धकहरूलाई सेवाप्रदायक संस्थाहरूले पुरस्कृतसमेत गर्ने गरेका छन् । केही दिनअघि मात्र सबैभन्दा बढी चुल्हो बनाउने झाँगाझोली रातमाटा गाविसका धनबहादुर श्रेष्ठलाई रू. ५ हजार, दोस्रो हुने जरायोटारका मोहनप्रसाद फुयाललाई रू. ३ हजार, तेस्रो हुने रानीबासकी सुमित्रा माझीलाई रू. २ हजार र सान्त्वना स्थान प्राप्त गर्ने पुरानो झाँगाझोलीका सीताराम हायूलाई रू. १ हजार पुरस्कार प्रदान गरिएको थियो ।
सुधारिएको चुल्हो निर्माणबाट धूवाँका कारण लाग्ने विभिन्न रोगको जोखिममा परेका बालबालिका र महिला त्यसबाट मुक्त हुने विश्वास गरिएको छ । अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष यशोदा कोइरालाले घरभित्र चुल्होको काम अधिकांश महिलाले गर्नुपर्ने र उनीहरूसँग बालबालिका रहने भएकाले धूवाँका कारण ती दुई वर्ग नै रोगको शिकार हुने गरेको बताइन् । 'विशेषगरी महिला र बालबालिकालाई धूवाँका कारण लाग्न सक्ने विभिन्न रोगबाट जोगाउन यो अभियान जिल्लाभरि नै सञ्चालन गर्नुपर्ने देखिन्छ,' उनले भनिन् ।
Admin 2011-07-09