काठमाडौं । गत वर्षको लाभांश वितरण गरिसकेको सिटिजन लाइफ इन्स्योरेन्सले सोमवार पुनः अर्को लाभांश सार्वजनिक गर्यो ।
कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम ५ अर्ब चुक्ता पूँजी कायम गर्ने गरी शेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँको आधारमा २६ दशमलव ९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
वैशाख २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अन्तरिम लाभांशका रूपमा बोनस शेयरबापत १ अर्ब ६ करोड २५ लाख रुपैयाँ र नगद लाभांशबापत ५ करोड ५९ लाख २१ हजार रुपैयाँ बराबर वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय वैशाख २४ गते सार्वजनिक गरेको कम्पनीलाई सोही दिन नेपाल बीमा प्राधिकरणले अन्तरिम लाभांश स्थगत गर्न निर्देशन दिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले अन्तरिम लाभांश स्थगन गर्न निर्देशन दिएको प्रष्ट पारे । एकै वर्ष दुई पटक लाभांश वितरण गर्न प्राधिकरणलाई जानकारी नै नदिई कम्पनीले निर्णय गरेकोमा प्राधिकरणको आपत्ति रहेको पौडेलको भनाइ छ । एकै आर्थिक वर्षमा दुई पटक लाभांश वितरण गर्न नपाउने भनाइ समेत पौडेलको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट भने ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको छ । गत वर्षको वार्षिक साधारण सभा कम्पनीले गत माघ १४ गते सम्पन्न गरी ५ प्रतिशत बोनस शेयरसमेत गत फागुन १७ गते सूचीकृत गराई सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिसकेको छ ।
नियामकले स्थगन गर्न सक्ने अवस्थाको लाभांश घोषणाका कारण सोमवार कम्पनीको शेयर कारोबार सर्वाधिक भएको छ । ३१ करोड ९८ लाख ३० हजार रुपैयाँभन्दा बढीको ६ लाख ६६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको अवस्थामा यो दिन कम्पनीको शेयर मूल्य कम्पनीको शेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँ ८० पैसाले बढेर ४६३ रुपैयाँ १० पैसा कायम भएको छ ।
प्रतिकित्ता ४६० रुपैयाँमा खुला भएको कम्पनीको शेयर मूल्य अधिकतम ४९६ रुपैयाँसम्म पुगेको थियो । खुलामूल्य बराबर मूल्यमा झरेर अन्तिममा कम्पनीको शेयर मूल्य बढेर बन्द भएको देखिन्छ । गलत सूचनाका आधारमा सोमवार भएको कम्पनीको शेयर कारोबार रद्द गर्नुपर्ने माग लगानीकर्ताले राखेका छन् ।
लगानीकर्ताले सोमवारको कारोबार रद्द गर्दै गलत निर्णय गर्ने कम्पनीलाई हदैसम्मको कारवाही गर्नसमेत नियामकसमक्ष अनुरोध गरेका छन् । लगानीकर्ता डम्मरु बल्लव घिमिरेले सोझासिधा लगानीकर्तालाई फसाउने गरी भएको यस्तो निर्णयमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
आगामी दिनमा कुनै पनि कम्पनीले आम लगानीकर्ताको सम्पत्तिमाथि हस्तक्षेप हुने निर्णय गर्नुअघि १० पटक सोच्न घिमिरेले सुझाव दिएका छन् ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले समेत यो विषयमा छानबिन अघि बढाएको बताएको छ । बोर्डले छानबिनका आधारमा दोषी देखिए कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने समेत प्रष्ट पारेको छ ।