कुनै बेला बैंकले प्रदान गर्ने ब्याजदरभन्दा महँगोमा ऋणपत्र सार्वजनिक गर्दा विक्री नहुने समस्या थियो । तर, अहिले ऋणपत्र विक्री गर्दा दिएको म्यादभन्दा पहिले नै सबै विक्री हुन थालेको छ भने दोस्रो बजारमा समेत खरीद विक्री हुन थालेको छ । गत आर्थिक वर्ष (आव) को प्रथम ५ महीनाको तुलनामा चालू आवको प्रथम ५ महीनामा ऋणपत्र अर्थात् डिबेन्चरको कारोबारमा ४९५ प्रतिशतले वृद्धि भएको देखिएको छ । यसले बजारमा ऋणपत्रको बुझाइमा परिवर्तन आएको देखाउँछ । सरकारले ऋणपत्रमार्फत आन्तरिक ऋण उठाउँछ । पहिला यस्तो ऋणपत्र नेपाल राष्ट्र बैंकमार्फत विक्री हुन्थ्यो तर अहिले सरकारले आफै विक्री गर्न थालेको छ । विदेशतिर नगरपालिकाले ऋणपत्र विक्री गरी विभिन्न विकास निर्माणका काम गरेको पाइन्छ । नेपालमा भने त्यस्तो गरेको पाइँदैन । जेहोस् नेपालमा ऋणपत्रप्रति सर्वसाधारण आकर्षित हुन थालेका छन् जुन सकारात्मक छ ।
सरकारी ऋणपत्र दोस्रो बजारमा कारोबारका लागि नेपाल धितोपत्र बोर्डले विनियमावली नै बनाएको छ । त्यस्तै बैंकहरूले पूँजीकोषको अनुपात मिलाउन ऋणपत्र जारी गरेका छन् । ती ऋणपत्रको ब्याजदर ८ प्रतिशतदेखि १२ प्रतिशतसम्म रहेको देखिन्छ । प्रतिएकाइ हजार रुपैयाँको ऋणपत्र अहिले १२ सयसम्ममा विक्री भइरहेको नेपाल स्टक एक्सचेन्जको तथ्यांकले देखाउँछ । सरकारले अहिले ब्याजदर सस्तो भएको समयमा आन्तरिक ऋण उठाउन ऋणपत्र विक्री गरेको छ । यस्तो ऋणपत्र विगतमा ३५ प्रतिशतको हाराहारीमा बिक्थे र म्याद थप्नुपर्ने अवस्था आउँथ्यो तर पछिल्लोपटक भने सबै ऋणपत्र समयअगावै विक्री भयो । यसो हुनुमा बैंकहरूले ऋणपत्र खरीद गर्नु एउटा प्रमुख कारण हुन सक्छ तर सर्वसाधारणले पनि उच्च खरीद गरेको देखिन्छ । अहिले बैंकले निक्षेपमा दिने उच्चतम ब्याजदर ६ प्रतिशत मात्रै छ । त्यो पनि प्रत्येक महीना ब्याजदर हेरफेर भइरहेको छ । कुनै बेला निक्षेपको ब्याजदर १२ प्रतिशतसम्म रहेकामा अहिले त्यसको आधा घटिसकेको छ । त्यसैले ऋणपत्रमा लगानीकर्ता आकर्षित भएका देखिन्छन् । त्यसो त अधिक तरलताबाट अत्तालिएका बैंकहरूले पनि यस्तो ऋणपत्र खरीद गरेको देखिन्छ ।
ऋणपत्रमा निश्चित अवधिका लागि ६/६ महीनामा ब्याज आउँछ । ऋणपत्रको अवधि समाप्त भएपछि जति पैसाको खरीद गरेको हो त्यति नै पैसा फिर्ता पाइन्छ । त्यसैले यो जोखीमरहित लगानी हो । खासगरी बचतबाट गुजारा चलाउनुपर्नेका लागि यस्तो ऋणपत्र निकै सहयोगी हुने देखिन्छ । त्यसैले ऋणपत्र सरकार, बैंक र सर्वसाधारण सबैका लागि उपयोगी र सहयोगी उपकरण बनेको हो । यस्तो उपकरणप्रतिको विश्वास बढ्नु भनेको अर्थतन्त्रका लागि सकारात्मक हो ।
निश्चित अवधिका लागि जारी गरिने ऋणपत्रमा कम्पनीहरूले अर्धवार्षिक र वार्षिक रूपमा ब्याज भुक्तानी गर्ने गर्छन् । ऋणपत्रधनीले कम जोखिममा वार्षिक रूपमा निश्चित प्रतिशत ब्याजदर प्राप्त गर्छन् । जसले गर्दा बचत तथा मुद्दती खाताहरूमा भइरहने ब्याजदर परिवर्तनको जोखिम ऋणपत्रका लगानीकर्तालाई हुँदैन । कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरधनीलाई लाभांश वितरण गर्नुअघि ऋणपत्रधनीलाई ब्याज दिनुपर्छ । कम्पनी नोक्सानीमा गए पनि र शेयरधनीलाई लाभांश नबाँडे पनि ऋणपत्रधनीलाई अनिवार्य रूपमा ब्याज भुक्तानी गर्नुपर्छ । त्यसैले जोखिमविना लाभ लिनेहरूको लागि यो उपकरण उपयुक्त हुन्छ । स्रोतको अभाव झेलिरहेको सरकारका लागि यो निकै सहयोगी हुन्छ ।
बैंक तथा वित्तीय संस्थाका लागि पनि स्रोतको व्यवस्थापन गर्न यो सहयोगी हुन्छ । यसले सर्वसाधारणको बचत पनि हुन्छ र त्यसको परिचालन पनि सहज हुन्छ । त्यसैले ऋणपत्रप्रति अझै विश्वास बढ्ने वातावरण बनाइनुपर्छ जसले गर्दा विदेशीसँग महँगोमा विभिन्न शर्तसहितको ऋणपत्र लिनुपर्ने अवस्था कम हुन्छ । सरकारले ठूलाठूला परियोजनाको नामै तोकेर यस्तो ऋणपत्र निकाल्ने हो भने पूर्वाधारको ठूला परियोजना बनाउन आन्तरिक स्रोतको परिचालन गर्न सकिन्छ ।