काठमाडौं । काठमाडौं उपत्यकाका मूर्त तथा अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि बृहत् योजना आवश्यक रहेको सरोकारवालाले बताएका छन् । हस्तकलाको एउटा विधामा मात्र नभई सम्पूर्ण सम्पदालाई एकीकृत गरी संरक्षणको बृहत् योजना बनाउनुपर्नेमा जोड दिइएको छ ।
नेपाल हस्तकला महासंघले सोमवार आयोजना गरेको ‘काठमाडौं उपत्यकाभित्रका मूर्त तथा अमूर्त सम्पदा तथा संस्कृतिको अवस्था र संरक्षणका लागि स्थानीय सरकारका अधिकारीसँग अन्तरक्रिया’मा स्थानीय जनप्रतिनिधिले उक्त धारणा राखेका हुन् । ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले उपत्यकाका सबै पालिकाले मूर्त/अमूर्त कला सम्पदा सूचीकृत गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
मूर्त र अमूर्त सम्पदाको तथ्यांकमा एकरूपता ल्याइनुपर्ने भन्दै उनले कलाकारको शीप पनि संरक्षण गरिनुपर्ने बताइन् । हस्तकलाका विधा अहिलेका पुस्तालाई पनि सिकाउन आवश्यक भएको उनको भनाइ छ । शुरूमा १८ ओटा पालिकालाई मात्र समेटेर भए पनि बृहत् खालको योजना बनाउनुपर्नेमा उनले जोड दिइन् ।
महासंघका अध्यक्ष रवीन्द्र शाक्यले हस्तकला संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय सरकारसँग सहकार्यको आवश्यकता रहेको बताए । नगरपालिकामा बजेट तथा योजना भए पनि कार्यान्वयन हुन नसकेको भन्दै उनले सम्बद्ध सरोकारवाला र स्थानीय सरकारबीच तालमेल हुन नसकेको उल्लेख गरे ।
महासंघ र स्थानीय सरकारबीच सहकार्य नहुँदा बजेट खर्च नभएको शाक्यले बताए । पर्यटनका लागि कला र सम्पदा प्रमुख विषय भएकाले यसको संरक्षण जरुरी रहेको उनले औंल्याए । भूकम्पपछि धेरै सम्पदा जीर्ण भएकाले स्थानीय सरकारले सहकार्य गरेर परम्परागत स्थानीय शैलीका सम्पदा बनाउनुपर्नेमा उनको जोड छ ।
स्थानीय सरकार–महासंघबीच सम्पर्क र संवादको खाडल रहेको भन्दै उनले स्थानीय तह र महासंघबीच सहकार्य भए उद्यमशीलता बढ्ने दाबी गरे । स्थानीय सरकारले योजना र बजेट बनाएमा महासंघले कार्यान्वयनमा सघाउने उनले बताए । ‘तथ्यांक संकलनमा महासंघ स्थानीय तहसँग सहकार्य गर्न तयार छ,’ उनले भने ।
काठमाडौं महानगरपालिकाका सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले मूर्त/अमूर्त सम्पदा संरक्षणमा महानगरले २ अर्ब रुपैयाँ खर्च गरिरहेको बताइन् । सम्पदा संरक्षणमा महानगरपालिकाले महासंघसँग सहकार्य गरिरहेको उनको भनाइ छ ।
टोखा नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले नगरपालिकाले शीप सिकाउन बजेट छुट्ट्याएरै काम गरिएको बताए । हस्तकला प्रवर्द्धन कसरी गर्ने भन्नेबारे प्रस्ट नहुँदा, हस्तकलाका मेलामा सबै वस्तु राखिँदा हस्तकलाको अपेक्षित प्रवर्द्धन नभएको उनको भनाइ छ ।
भक्तपुर नगरपालिकाका सम्पदा प्रमुख राम गोविन्द श्रेष्ठले हस्तकला तथा सम्पदाका विषयमा काम भइरहेको बताए । भक्तपुरको चिनारी माटोका सामान तथा काष्ठकलाको प्रवर्द्धनमा नगरपालिकाले थप योजनासहित काम गर्दै आएको उनले बताए । नगरपालिकाका जनप्रतिनिधिले यस्ता विषयलाई महत्त्व दिनुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा सहभागीले युवाहरूले पनि काष्ठकला/मूर्तिकला सिक्न खोजेको भन्दै तालीम दिइनुपर्ने बताए । पर्यटक आकर्षित गर्ने ठूलो माध्यम सम्पदा भएकाले उपत्यकाका स्थानीय तहले सम्पदामै केन्द्रित भएर काम गर्नुपर्नेमा उनीहरूले जोड दिए ।