नेपालमा पहेंलो धातु सुनमा निकै आकर्षण रहेको छ । सामाजिक, धार्मिक दृष्टिकोणले समेत सुन जनजीवनसँग जोडिएको छ । सुन सम्पन्नताको प्रतीकमात्र होइन, बाध्यताको प्रतीक पनि बनेको छ । तर, नेपालमा सुनको आपूर्ति आयातबाट हुने गरेको छ । यस्तोमा सुन किनेर गहना बनाउने प्रवृत्तिलाई कम गरी लगानीको उपकरण बनाउन आवश्यक छ । नेपालमा सुनको मोह भए पनि त्यसमा लगानी गर्न समस्या छ ।
भन्सार महशुल दर २० प्रतिशतबाट १० प्रतिशतमा झारी ५० प्रतिशतले कटौती गरेपछि त्यसको असर आयातमा देखिएको छ । भन्सार विभागका अनुसार मङ्सिरमा ५३ हजार ४१४ ग्राम सुन आयात भएको छ । त्यसअघिको कात्तिकमा ३२ हजार ४०९ ग्राम सुन आयात भएको थियो । असोजमा त सुन आयात नै हुन सकेको थिएन । नेपाल सुन आयात गर्ने राष्ट्रमा ३६ औंमा पर्छ । तर, त्यसरी आयात भएको सुन गहनाकै रूपमा मात्रै प्रयोग गर्नुपर्ने बाध्यता छ । गहनाका रूपमा प्रयोग गर्दा ज्यालाजर्तीमै धेरै पैसा जाने गरेको छ । अहिले गहना लगाउने प्रचलनमा केही कमी आए पनि सुनको खरीदमा भने कमी आएको छैन ।
नेपालको कानूनी व्यवस्थाअनुसार काँचो सुन खरीद गर्न पाइँदैन । वैदेशिक रोजगारीमा जानेमा ५० ग्रामसम्मका सुनका गहना विनाभन्सार शुल्क ल्याउन पाउँछन् । त्यसैले नेपालमा सुनको वास्तविक खपत कति छ भन्न सक्ने अवस्था छैन । भारतमा सुनमा भन्सार बढी हुँदा नेपालबाट तस्करी भएर सुन भारत जाने गरेको अनुमान गरिएको थियो । तर, भारतले भन्सार घटाएपछि त्यताबाट यता तस्करी हुन थालेको सुन व्यवसायीको भनाइ थियो । त्यसैले व्यवसायीको मागअनुसार सरकारले सुनमा लाग्ने भन्सार दर घटाएको हो ।
हालको कार्यविधिअनुसार नेपालमा बैंकले मात्रै सुन आयात गर्न पाउँछन् । सुन व्यवसायीको संगठनले दिएको सिफारिशअनुसार मात्रै बैंकहरूले सुन विक्री गर्छन् । तर, यसमा अदालतले यस्तो सिफारिश नचाहिने आदेश दिएपछि राष्ट्र बैंकले संघ/महासंघमा आबद्ध नरहेका व्यवसायीलाई पनि सुन विक्री गर्न बाटो खुला गरेको छ । नेपाल राष्ट्र बैंकले सुन विक्रीवितरणको समस्या समाधानका लागि कार्यविधि परिमार्जनको प्रक्रिया अगाडि बढाएको छ ।
सुन लगानीको उपकरण हो । मुद्रास्फीतिलाई हेजिङ गर्न सुनमा लगानी गर्ने गरिन्छ । आर्थिक संकट र उतारचढावबाट जोगिनका लागि सुन निकै सुरक्षित लगानी हो । तर, भौतिक रूपमा सुन किनेर राख्न असुरक्षित हुन्छ । त्यसैले गोल्ड ईटीएफमा लगानी गर्न पाउने हो भने गहनामा गर्ने लगानी यतातिर जान सक्छ । कमोडिटी एक्सचेन्ज हुने हो भने सुनमा लगानी गर्न पाउँछन् । त्यस्तै नेपाल राष्ट्र बैंकले सुन खाताको कुरा गरे पनि त्यसलाई पनि कार्यान्वयनमा लैजान सकेको छैन ।
आफूले किन्ने सुन बराबरको पैसा बैंकमा राख्ने र आफूलाई आवश्यक पर्दा त्यसको प्रचलित मूल्य बराबरको रकम लिने वा भौतिक रूपमा सुन नै लिन पाउने व्यवस्था हुने हो भने लगानीका लागि एउटा नयाँ उपकरण उपलब्ध हुन्छ । अहिले लगानीकर्ताले लगानीको ठाउँ नै पाएका छैनन् भन्दा हुन्छ । बैंकमा पैसा राख्न ब्याजदरभन्दा मुद्रास्फीति बढी छ । शेयरबजारमा लगानी गरौं भने त्यो बजार पनि निकै अस्थिर देखिएको छ । यस्तोमा सुनलाई लगानीको उपकरण बनाउन सरकारले बाटो खुला गरिदिनुपर्छ ।