काठमाडौं। नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तरराष्ट्रिय मान्यता प्राप्त आइएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तरराष्ट्रिय संस्था इन्टरसर्टले प्रदान गरेको हो । यो उपलब्धिले ग्राहकको डेटा सुरक्षा र संवेदनशील सूचनाको सुरक्षा अभ्यासप्रति नबिल बैंकको प्रतिबद्धता स्पष्ट रूपमा देखाएको बताइएको छ । आइतवार नबिल बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा बैंकलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरिएको हो । कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो ।
‘नबिल बैंकले आफ्नो सुरक्षात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेको प्रमाणपत्र प्रदायक संस्थाले गहन परीक्षणबाट पुष्टि गरेको हो । नबिल बैंकले आफ्नो सुरक्षा प्रणाली, अभ्यास र नियन्त्रणको विस्तृत मूल्यांकनपछि यो मान्यता प्राप्त गरेको हो । साइबर जोखिम र चुनौतीहरू बढिरहेका बेला यस्तो प्रमाणपत्रले बैंकको सुरक्षाप्रतिको गम्भीर प्रतिबद्धता झल्काउँछ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो प्रमाणपत्रले डेटा सुरक्षामा नबिल बैंकको गुणस्तरलाई मान्यता दिएको बताए । उनले भने, ‘हामी ग्राहकको डेटा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छौं । यो प्रमाणपत्रले सुरक्षात्मक उपायलाई निरन्तर सुधार्न गरिएको हाम्रो प्रयासलाई मान्यता दिइएको छ । यो प्रक्रियालाई हामी निरन्तर सुधार गर्ने प्रतिबद्धता पनि गर्छांै,’ उनले भने ।
‘आइएसओ २७००१:२०२२ प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि अन्तरराष्ट्रिय मान्यता प्राप्त मापदण्ड हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो प्रमाणपत्र प्राप्त गर्नु नबिल बैंकको सुरक्षाको उच्च मापदण्ड कायम राख्न गरिएको प्रयासको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले बैंकलाई थप विश्वासिलो बनाउनुका साथै बैंकको ग्राहकप्रति दायित्व झल्काएको छ ।’
इन्टरसर्ट विश्वव्यापी सर्टिफिकेसन संस्था हो, जसले विभिन्न व्यवस्थापन प्रणालीहरूका लागि सर्टिफिकेसन सेवा प्रदान गर्दछ । नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको शुरूआत गर्दै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बैंकले बताएको छ ।