काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन निरज तामाङ दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा ४ अन्डर ६५ को स्कोरमा निरजले पहिलो दिन युवराज भुजेल र भुवनकुमार रोक्कालाई २ स्ट्रोकले पछि पारेका हुन् । २ अन्डर ६७ को स्कोरमा युवराज र भुवन संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन् ।
धन बहादुर थापा र सञ्जय लामा १ अन्डर ६८ स्कोरसहित संयुक्त रूपमा चौथो स्थानमा रहेका छन् । रामे मगर र जयराम श्रेष्ठ प्रतियोगिताको छैटौं, प्रदीपकुमार लामा र एमेच्योर सुन्दर राई १ ओभर ७० मा खेल पूरा गर्दै संयुक्त रूपमा आठौं स्थानमा रहेको बताइएको छ । यस्तै, विष्णु प्रसाद शर्मा र एमेच्योर सुरेश तामाङ १०औं स्थानमा रहेका छन् । ५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गल्फर प्रतिस्पर्धामा छन् । प्रतियोगिताको कुल पुरस्कार रू. ८ लाख ८२ हजार रहेको बताइएको छ । विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमश: १ लाख र ७२ हजार प्राप्त गर्ने बताइएको छ । शीर्ष २१ मा पर्ने गल्फरले पनि नगद हात पार्नेछन् ।