काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सले दुईओटा डिटिजल सेवा सार्वजनिक गरेको छ । कम्पनीले सूर्यज्योति केयर्स कार्ड र ई–कर्जा सेवा ल्याएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच कम्पनीले सोमवार यी दुवै डिजिटल सेवा सार्वजनिक गरेको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले यी सेवाको उद्घाटन गरेका हुन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बीमित र अभिकर्ताका लागि यी सेवा ल्याइएको बताए । यी दुवै सुविधा नि:शुल्क उपभोग गर्न सकिने बताइएको छ । खत्रीका अनुसार सूर्यज्योति केयर्स कार्डमार्फत बीमित तथा अभिकर्ता विभिन्न होटल, रेस्टुराँ, मल, फिटनेस, अस्पतालका सेवा तथा हवाई र सिनेमा टिकट खरीद गर्दा आकर्षक छूट पाउने बताइएको छ । यो सुविधा उपभोग गर्न बीमितको न्यूनतम ५ लाखको बीमांकको बीमालेख हुनुपर्ने, बीमालेख सक्रिय तथा नवीकरण हुनुपर्ने, अभिकर्ताका लागि सेल्फ कोर्ड ६ लाख र टिम बिजनेसमा ३० लाख रुपैयाँ व्यापार गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।