काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत आर्थिक वर्ष सोही अवधिसम्म शतप्रतिशत खुद नाफा बढाएको छ । अघिल्लो वर्ष २६ करोड ८८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ५३ करोड ८२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।
गत वर्ष कम्पनीको सञ्चालन नाफा भने ५५ दशमलव ८३ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ५० करोड ६१ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष ७८ करोड ८७ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको हो । गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज ९ करोड ४३ लाख रुपैयाँभन्दा बढी मात्र भएको छ । अघिल्लो वर्ष यो रकम ३५ करोड २७ लाख रुपैयाँभन्दा बढी थियो ।
गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ४८ करोड रुपैयाँभन्दा बढी छ । १ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष रकम १ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी छ । रिटेन्ड अर्निङ ४८ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको शेयर प्रिमियममा भने ८ लाख ६८ हजार रुपैयाँ छ ।
कम्पनीले गत वर्ष विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अघिल्लो वर्षभन्दा करीब ३ प्रतिशत बढी ३ अर्ब २९ करोड ७६ लाख रुपैयाँ कर्जा सापटी लिएको छ भने ८ दशमलव ६८ प्रतिशत बढी १९ अर्ब ७२ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
कम्पनीको निक्षेप संकलन करीब १० प्रतिशत बढी १४ अर्ब ६ करोड ५६ लाख रुपैयाँभन्दा बढी छ । अघिल्लो वर्ष ८ दशमलव ६६ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा गत वर्ष ७ दशमलव ९२ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी ३७ रुपैयाँ १२ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २४९ रुपैयाँ ५७ पैसा छ ।